रोनाल्डो र मेस्सी आमने-सामने हुँदै, विशेष टिकटको मूल्य २.६६ मिलियन डलर

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्धको मैत्रीपूर्ण खेलमा क्रिस्टियानो रोनाल्डोले ‘साउदी अलस्टार ११’ को कप्तानी गर्ने भएका छन्।

अलनासर र अलहिलालको खेलाडीले बनेको साउदी अलस्टार ११ को कप्तानको जिम्मेवारी रोनाल्डोले पाएका हुन्। बिहीबार पीएसजीसँग अलस्टारले मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।

अलनासरसँग जोडिएपश्चात् यो रोनाल्डोको पहिलो खेल हुनेछ । यससँगै फुटबलका दुई महान् खेलाडी रोनाल्डो र लिओनल मेस्सी आमने-सामने हुनेछन्। सन् २०२० मा नाउ क्याम्पको दौरान रोनाल्डो र मेस्सी आमने-सामने भएका थिए।

खेल रियादस्थित किङ फाहद अन्तर्राष्ट्रिय स्टेडियममा हुनेछ।

एक साउदी अरेबियन व्यवसायीले मेसी र रोनाल्डोको विशेष खेल हेर्नका लागि लिलामीमार्फत २.६६ मिलियन डलरमा एक टिकट किनेका छन् ।

साउदी सरकारको मनोरञ्जन विभागले ट्विटरमा जनाएअनुसार मेसी र रोनाल्डोको खेल हेर्न लिलामीमा सबैभन्दा ठूलो बोली लगाएका साउदीको रियल स्टेट समूह अकरवानका महाप्रबन्धक अल–घाम्डीले ‘कल्पना बाहिरको’ टिकट जितेका हुन् ।

अब उनले भिआइपी टिकट किनेसँगै विशेष ठाउबाट खेल हेर्न दिने, खेलाडीसँग भेट गर्न, र खेलाडीसँग फोटो खिचाउन पाउने लगायतका सुबिधा पाउने भएको साउदी जनरल इन्टरटेनमेन्ट अथरिटीले जनाएको छ । साउदीले यो रकम एहसान नामक च्यारिटीमा जाने समेत बताएको छ ।

यस खेलको टिकट खुलेको एक घण्टामै २० लाख भन्दा बढी अनलाइन टिकटको अनुरोध समेत आएको आयोजकले जनाएका छन् । यता पिएसजीले यस मैत्रीपूर्ण खेलबाट १० मिलियन युरो कमाई गर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here