पशुपतिनाथ दर्शनार्थीलाई दुःख दिने पूजासामग्री पसललेलाई कारबाही गरिने

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने स्वदेशी तथा विदेशी दर्शनार्थीलाई दुःख दिने फूल तथा पूजासामग्री पसल सञ्चालकलाई कारबाही गरिने जनाएको छ ।

बिहीवार सूचना जारी गर्दै पशुपतिनाथको दर्शनमार्ग वनकालीदेखि पोडेपाटीसम्म सञ्चालित फूल तथा पूजासामग्री पसलहरुमा ग्राहकहरुलाई अशिष्ट भाषा बोल्ने, हातमा जबरजस्ती पानी हालिदिने, पशुपतिनाथको मूल मन्दिर जान गलत मार्ग देखाउनेलगायत कार्य गरेको गुनासो आएपछि कोषले उक्त चेतावनी दिएको हो ।

पशुपतिनाथ क्षेत्रमा गैरकानुनी, धार्मिक मर्यादा एवम् आध्यात्मिक हिसाबले समेत अशोभनीय कार्य बढेको कोषको ठहर छ । सोही सन्दर्भमा कोषले जारी गरेको सूचनामा त्यस्ता कार्य गरेको पाइएमा पसल नै हटाइने उल्लेख छ । यसअघि पटक पटक सूचना जारी गरेर सो कार्य नगर्न सुसूचित गराइए पनि प्रवृत्तिमा कमी नआएकाले ‘एक्सन’ मा उत्रिन लागेको कोषको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here