संघीय सरकारले औद्योगिक वातावरण बनाउन नदिएको मुख्यमन्त्रीको आरोप

काठमाडौं, २२ साउन । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा औद्योगिक वातावरण निर्माणका लागि सङ्घीय सरकारले अप्ठ्यारो सिर्जना गरेको आरोप लगाएका छन् ।

आइएलओले बुधबार जनकपुरमा आयोजना गरेको साना तथा मझौला उद्योगका लागि उपयुक्त वातावरण निर्माणसम्बन्धी सार्वजनिक निजी संवाद कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले थालेको प्रयासमा केन्द्रीय सरकारको साथ नरहेको बताएका हुन् ।

‘प्रदेश सरकारले औद्योगिक विकासका लागि पहल थालिसकेको भए पनि सङ्घीय सरकारले समयमा आवश्यक ऐन कानून निर्माण गर्न सकेको छै्रन,’ राउतले भने ।

प्रदेश सरकारले प्रदेश नं २ मा लगानी गर्ने उद्योगहरुलाई २० वर्षसम्म कर छुट गर्ने, जग्गाको व्यवस्थापन गर्नेजस्ता नीति अघि सारे पनि सङ्घीय सरकारका मन्त्रीहरुले विभिन्न बखेडा झिकेर प्रदेशको अधिकार क्षेत्रभित्र हस्तक्षेप गर्न खोजेको उनको गुनासो छ ।

औद्योगिक विकासबिना प्रदेश तथा देशको विकास हुन नसक्ने भएकाले लगानीकर्ताहरुका लागि आवश्यक ऐन, कानून, सुरक्षाको प्रत्याभूति जस्ता कार्यहरु गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको पनि मुख्यमन्त्री राउतले बताए ।

प्रदेश २ का युवाहरु रोजगारी नपाएर खाडी मुलुकमा जान बाध्य भएकाले उनीहरुलाई रोजगारमूलक तालीम दिएर साना व्यवसायहरु सञ्चालनमा सक्षम बनाउन प्रदेश सरकारले ठोस योजनाका साथ अघि बढेको र त्यसको परिणाम केही दिनभित्रै देखिने पनि उनले दाबी गरे ।

कार्यक्रममा प्रदेश नीति आयोगका उपाध्यक्ष डा हरिवंश झाले प्रदेश सरकारले औद्योगिक विकासका लागि लिएको नीतिबारे व्याख्या गरेका थिए भने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्लेले नेपालमा औद्योगिक क्षेत्रको अवस्था र त्यसको चुनौतीबारे कार्यपत्र प्रस्तुत गरेका थिए । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here