एक भन्दा बढी लघुवित्तबाट ऋण लिन नपाउने, लभांश बितरणमा पनि कडाइ

काठमाडौं, १० फागुन । नेपाल राष्ट्र बैंकले एक भन्दा बढी लघुवित्त वित्तीय संस्थाबाट ऋण लिन नपाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गरेर बुधबार यस्तो व्यवस्था गरेको हो ।

एक भन्दा बढी संस्थाबाट ऋण लिएका लघुवित्तका ग्राहकहरु ऋणको भारमा परेको भन्दै राष्ट्र बैंकले एक व्यक्तिले एउटा भन्दा धेरै लघुवित्त वित्तीय संस्थाबाट ऋण लिन नपाउने व्यवस्था गरेको हो ।

बैंकको परिपत्रमा बिना धितो सामुहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा एउटा ऋणीलाई एउटा मात्र लघुवित्त वित्तीय संस्थाले यस व्यवस्था बमोजिमको कर्जा सीमा ननाघ्ने गरी कर्जा प्रवाह गर्नु पर्ने उल्लेख छ ।

यद्यपी यस अघि प्रवाह भएको कर्जाको हकमा यसपूर्व प्रवाह भएको कर्जाको हकमा साविक बमोजिमको भुक्तानी तालिका अनुसार कर्जा चुत्ता गर्न राष्ट्र बैंकले छुट दिएको छ ।

तर साविकमा यस्तो सीमा नाघ्ने गरी कर्जा प्रदान गरिएमा कर्जा प्रवाह गर्ने पछिल्लो लघुवित्त वित्तीय संस्थाले सीमा भन्दा बढी प्रवाह भएको कर्जा रकममा शत प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने व्यवस्था छ ।

यस्तै राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको लाभांश वितरणमा पनि कडाइ गरेको छ ।

वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने परिपत्रमा उल्लेख छ । यसअघि २० प्रतिशत भन्दा बढी लाभांश वितरण गर्दा उक्त व्यवस्था थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here