राष्ट्रपतिको निर्वाचन आज, नेम्वाङ र पौडेल चुनावी मैदानमा

काठमाडौं । मुलुकको नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ। राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेस र नेकपा(एमाले) का उमेदवारले प्रतिष्पर्धा गर्दै छन् ।

निर्वाचन प्रक्रिया अहिले बिहान १० बजेबाट संघीय संसद् कार्यालय बानेश्वरमा सुरु हुँदै छ । निर्वाचन आयोगले १० बजेदेखि ३ बजेसम्मका लागि मतदानको समय निर्धारण गरेको छ ।

नतिजा आजै सार्वजनिक गर्ने आयोगले जनाएको छ । नतिजा सार्वजनिक हुनेबित्तिकै नेपालले चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति पाउनेछ ।

नेपाली कांग्रेसबाट उमेदवारको रूपमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल छन् । यस्तै, नेकपा(एमाले)को तर्फबाट पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उमेदवार छन् । कांग्रेस उमेदवार रामचन्द्र पौडेललाई आठ दलले समर्थन गरेका छन् ।

कांग्रेस बाहेक नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले सहयोग गरेका छन् ।

राष्ट्रपति निर्वाचनमा संघीय सांसद ३३२ र प्रदेशसभा सदस्य ५५० जना मतदाता छन्। मतदानका लागि महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्था गरिएको छ।

निर्वाचनलाई व्यवस्थित गर्न मतदाता र मिडियाकर्मीका लागि विश्राम गर्ने बेग्लाबेग्लै पालसहितको स्थानको व्यवस्थासमेत मिलाइएको छ।

निर्वाचनमा संघीय सांसदको एक मत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here