लिग टू क्रिकेट: पीएनजीमाथि नेपालको जित, सन्दीपको चार विकेट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलाको पहिलो खेलमा नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ओपनर आसिफ शेखको शतक र सन्दीप लामिछानेको ४ विकेट प्रेरित नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको हो । जितका लागि २९८ रनको लक्ष्य पछ्याएको पीएनजी २४५ रनमा अल आउट भयो ।

पीएनजीका लागि टोनी उरा र नोर्मान भानुआले अर्धसतक बनाए। भानुआले सर्वाधिक ६० रन बनाउँदा उराले ५० रन बनाए। कप्तान असाद भालाले ४२ रन बनाउँदा किपलिन डोरिगाले २६ रन बनाए।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। दीपेन्द्र सिंह ऐरीले २ तथा कुशल मल्लले १ विकेट लिए।

नेपालका लागि ओपनिङ ब्याट्सम्यान आशिफ शेखले शतक प्रहार गरे। उनले ११० रन बनाउने क्रममा १२ चौका र २ छक्का प्रहार गर्दै ११० बल खेले। उनको यो पहिलो एकदिवसीय शतक हो।

खेलमा नेपालले उत्कृष्ट सुरुवात गर्दै पहिलो विकेटका लागि ११० को सतकीय साझेदारी गर्‍यो। नेपालका लागि ओपनर कुशल भुर्तेल अर्धसतक बनाउन ५ रनले चुकेका थिए। उनी १८.४ ओभरमा ५६ बल खेल्दै ६ चौका प्रहार गरे।

नेपालले बाँकी ३० रन बनाउँदा थप दुई विकेट गुमाएको थियो। कुशल मल्ल २१ ओभरको अन्तिम बलमा २ रनमै आउट हुँदा ज्ञानेन्द्र मल्ल २५ ओभरको अन्तिम बलमा ११ रन बनाएर आउट भए।

भीम सार्कीले ३८ बलमा आक्रमक ब्याटिङ गर्दै ४४ रन बनाए भने सोमपाल कामी ४ रनमा नटआउट रहे।

कप्तान रोहित पौडेलले ३० रन जोड्दा दिपेन्द्रसिंह ऐरीले ७ रनको योगदान दिए। आरिफ शेख १३ बलमा १५ रन बनाएर आउट हुँदा करण केसी ६ बलमा ८ रन जोडेर आउट भए भने सन्दीप लामिछानेले ७ रन बनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here