उपराष्ट्रपति पदमा पुरुषको उम्मेदवारी दर्ता नगर्ने निर्वाचन आयोगको संकेत

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनमा पुरुषको उम्मेदवारी नदिन निर्देशन दिएको छ ।

आउँदो फागुन २७ गते हुने उपराष्ट्रपति पदको उम्मेदवार मनोनयनपत्र दर्ताका लागि आयोगले संविधानअनुरुप नै फरक लिंग वा फरक समुदायको मात्र मनोनयनपत्र दर्ता गर्नका लागि निर्देशन दिएको हो ।

बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा खस आर्य समावेशी समूहका पुरुष रामचन्द्र पौडेल निर्वाचित भएको भन्दै राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिङ्ग (पुरुष) वा समुदाय (खस आर्य) भन्दा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्न आयोगले निर्देशन दिएको हो । निर्वाचन कार्यक्रम अनुसार फागुन २७ गते उपराष्ट्रपति पदको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका छ ।

संविधानको धारा ७० मा ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ’ भन्ने व्यवस्था छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा (५) मा “यस दफा बमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सो भन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नु पर्नेछ’ भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here