उपराष्ट्रपतिका चारै जनाको उम्मेदवारी कायम, रिट पर्ने डरले जसपाले फिर्ता लिएन्

काठमाडौं । उपराष्ट्रपतिको चुनावमा मनोनयन गर्ने चारै जनाको उम्मेदवारी कायम रहेको निर्वाचन कार्यालयले जनाएको छ।

उम्मेदवारी फिर्ताको समयसीमाभित्र जसपाका दुवै उम्मेदवारले उम्मेदवारी फिर्ता नगरेपछि उपराष्ट्रपति चुनावमा चार जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

चैत ३ गते तय भएको चुनावमा शनिबार चार जनाको उम्मेदवारी दर्ता भएको थियो। निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको आइतबार ५ बजे प्रकाशित गरेको अन्तिम उम्मेदवारको सूचीमा जनता समाजवादी पार्टीका २ र जनमत पार्टी र नेकपा एमालेबाट १-१ जनाको उम्मेदवारी कायम रहेको जनाएको हो।

जसपाबाट रामसहायप्रसाद यादव, प्रमिला कुमारीको उम्मेदवारी कायम छ। यद्यपि जसपाको आधिकारिक उम्मेदवार यादव बनाउने ८ दलबीच समझदारी बनेको छ।

जसपाले प्रमिला कुमारीको उम्मेदवारी फिर्ता लिएर रामसहायको मात्रै कायम राख्ने तयारी गरेको थियो । त्यसका लागि अध्यक्ष उपेन्द्र यादवले पार्टीका शीर्ष नेताहरू र सत्तारुढ गठबन्धनका नेताहरूसँग छलफल गरेका थिए ।

छलफलमा सहभागी राजनीतिक दलका नेताहरूका अनुसार राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेको र उपराष्ट्रपति महिला हुनैपर्ने मागसहित सर्वोच्चमा मुद्दा पर्ने कुरा उठेपछि दुवैको उम्मेदवारी कायम राख्ने निर्णय भएको हो ।

अदालतमा रिट परेमा न्यायाधीशले कस्तो निर्णय गर्न सक्छन् भन्ने यकिन नभएकाले नै उपराष्ट्रपतिमा पार्टीबाट दुवै उम्मेदवारको नाम कायम राखिएको जसपाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here