उपराष्ट्रपति निर्वाचन बिहान १० बजेदेखि, आजै नतिजा

काठमाडौं । उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।

निर्वाचनमा प्रतिनिधिसभा/राष्ट्रियसभा र प्रदेशसभाका सांसदले मतदान गर्नेछन् । प्रदेशसभाका ५५० र संघीय संसद्का ३३२ मतदाता रहेका छन् ।

नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा र जनता समाजवादी पार्टी जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला कुमारीको नाम मतपत्रमा छ।

अघिल्लो चुनावमा एमाले–माओवादी गठबन्धन थियो तर, अहिले कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाबीच गठबन्धन छ।

प्रमिलाले रामसहायलाई समर्थन गर्दै आफ्नो उमेदवारी निष्क्रिय भएको बताएकी छन् । तर, उमेदवारी फिर्ता लिने निधारित अवधिभित्र उनले उमेदवारी फिर्ता लिएकी थिइनन् । त्यसैले मतपत्रमा उनको पनि नाम र तस्बिर हुनेछ । उमेदवारी निष्क्रिय गरेको बताएकाले मतचाहिँ नपाउन सक्छिन् ।

निर्वाचनमा संघीय सांसद र प्रदेश सांसदहरूका लागि छुट्टाछुट्टै मतपत्र रहनेछ । संघीय सांसदहरूले सेतो पृष्ठभूमिमा गुलाबी रङ र प्रदेश सांसदहरूले सेतो पृष्ठभूमिमा हरियो रङको मतपत्रमा मत प्रदान गर्नेछन् ।

प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदले उपराष्ट्रपतिमा मत दिन पाउँछन्। अहिले प्रतिनिधि सभामा २ सय ७३ सदस्य छन्। राष्ट्रिय सभामा ५९ सदस्य छन्। यिनीहरुको कुल मतभार २६ हजार २ सय २८ हुन आउँछ।

यस्तै प्रदेश सभामा ५५० सदस्यको २६ हजार ४ सय मतभार छ। दुवैतिरको मतभार ५२ हजार ६ सय २८ हुन्छ।

उपराष्ट्रपति निर्वाचित हुन कुल मतभारको बहुमत ल्याउनुपर्छ। यसको बहुमत २६ हजार ३ सय १४ ल्याउने उम्मेदवार उपराष्ट्रपतिमा निर्वाचित हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here