‘देशद्रोही अभियानबारे सरकारलाई थाहा छ कि छैन, जनताले प्रतिवाद गर्न नपरोस्’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताको रक्षाको निम्ती उभिने बताएका छन्।

शुक्रबार नेपाल विद्युत कर्मचारी युनियनको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशद्रोही अभियानबारे सरकारलाई थाहा छ कि छैन भन्दै प्रश्न गरेका हुन् ।

‘देश अर्कालाई जिम्मा लगाइदिऊँ’ भनेर अभियान चलाउनेहरुलाई तत्काल नियन्त्रणमा लिन माग गरेका छन् । नभए जनताले प्रतिवाद गर्ने उनको चेतावनी छ ।

‘हामी अर्घेल्याइँ गर्न चाहदैनौं। कसैका विरुद्ध केही गर्न चाहदैनौं। कसैका हितमा कुनै कुठाराघात गर्न चाहदैनौं, उनले भने, ‘एउटै सर्त हो। हामी हाम्रो राष्ट्रिय हितको पक्षमा उभिन्छौं। त्यसको रक्षाको पक्षमा उभिन्छौं। र, त्यसम अडिक रहन्छौं।’

सार्वभौसत्ता, राष्ट्रियताविरुद्ध कोही चम्किँदै हिड्छ भने जनताले प्रतिवाद गर्ने उनले बताए । ‘कुनै बैंकका डिफल्टर हुन् कि जो सुकै हुन्, कसैलाई पनि जनताले सहन सक्दैन’, एमाले अध्यक्ष ओलीले भने, ‘लडेर बचाएको देश हो, साग र साइकल सस्तो पाइन्छ रे ! यो देशको अन्न खाएर जन्मिएको हुँ भन्ने मान्छे कसरी बोल्न सक्छ यो देश अर्कालाई जिम्मा लगाइदिऊँ ।’

अध्यक्ष ओलीले ऊर्जा व्यापारको सन्दर्भमा धेरै चिन्ता गर्नुपर्ने आवश्यकता नभएको प्रष्ट पारे। उनले ऊर्जा व्यापारको चिन्ता भन्दा ऊर्जा खपतको राष्ट्रिय अभिवृद्धि आजको आवश्यकता भएको उल्लेख गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here