विश्वासको मतमा ‘प्रचण्ड’ लाई ११ दलको समर्थन, एमाले, राप्रपा र नेमकिपा विपक्षमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् ।

नेकपा एमालेसहित राप्रपाले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् ।

दिउँसो १ बजे बस्ने बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जारी गरेको सूचनामा जनाईको छ ।

कुल २७५ सदस्यीय संसद्बाट विश्वास पाउन प्रधानमन्त्रीलाई १३८ मत चाहिन्छ ।

विश्वासको मतमा प्रधानमन्त्री प्रचण्डलाई ११ दलले समर्थन जनाउने यसअघि नै घोषणा गरेका छन् । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विश्वासको मत दिने जनाए पछि दलको संख्या ११ पुगेको हो ।

जसअनुसार १० दलीय गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी, स्वतन्त्र सांसद अमरेश सिंहलगायतले विश्वासको मत दिने जनाएका हुन । उता, गठबन्धन बाहिरको रास्वपाले पनि विश्वासको मत दिने आइतबार निर्णय गरिसकेको छ ।

यसैगरी, नेकपा एमाले, राप्रपा र नेमकिपाले भने प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनेबारेमा कुनै निर्णय लिएको छैन । सम्भवतः यी दल विपक्षमा रहने छन् ।

कांग्रेसका ८६ सांसद, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका १९, जसपाका १३, नेकपा एकीकृत समाजवादीका १०, लोकतान्त्रिक समाजवादी पार्टीका चार, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका चार र स्वतन्त्र सांसद दुई र आमजनता पार्टीका एक र जनमोर्चाका एक जना सांसद रहेका छन् ।

गएको पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले पुस २६ गते २६८ सांसदबाट विश्वासको मत पाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here