लुम्बिनीबाट बाहिरियो ६ दल, सरकार अल्पमतमा

काठमाडौं । लुम्बिनी प्रदेशमा माओवादी र जनमतका ४ मन्त्रीले राजीनामा दिएका छन् ।

केन्द्रमा नयाँ गठबन्धन बनेपछि माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी, कृष्णा केसीले मन्त्रीबाट राजीनामा दिएका छन् । यसैगरी जनमतका मन्त्री सीके गुप्ताले पनि राजीनामा दिएका छन् ।

माओवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोसपा, जसपा, एकीकृत समाजवादीले मुख्यमन्त्री गिरीलाई दिएको समर्थन फिर्ता लिएका हुन्।

माओवादी मन्त्रीहरूले समर्थन फिर्ता लिएमा नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लीला गिरी अल्पमतमा पर्नेछन्। उनले एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ।

गत पुस २७ मा एमाले संसदीय दलका नेता गिरी मुख्यमन्त्री नियुक्त भएका थिए। उनले माघ ५ गते विश्वासको मत लिएका थिए। उनलाई ५८ जना सांसदले विश्वासको मत दिएको थियो।

लुम्बिनीमा नेकपा एमालेका २९, कांग्रेसका २७, माओवादीका १० जना सांसद छन्।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादीको ३, लोकतान्त्रिक समाजवादीको ३, जनमत पार्टीको ३, नेकपा एकीकृत समाजवादी १ र राष्ट्रिय जनमोर्चाको १ सांसद छन्।