यसकारण महंगिरहेको छ सुन

काठमाडौं, १९ चैत । अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय लगानीका मुख्य क्षेत्र अमेरिकी डलर र पेट्रोलियम पदार्थका तुलनामा सुन नै सबैभन्दा सुरक्षित र प्रतिफल योग्य ठानिएकाले यसको मूल्य लगातार बढ्दो क्रममा देखिएको केन्द्रीय बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले पछिल्लो समय दुई ठूला अमेरिकी बैंक धरासायी भएपछि डलरका लगानीकर्ता सुनतर्फ आकर्षित भएको हुनसक्ने अनुमान छ । अमेरिकी केन्द्रीय बैंकको ब्याजदर बढाउनुको नकारात्मक असर देखिएको भन्ने बजारको मनोविज्ञान खडा हुँदा अमेरिकी डलरबारे संशय उत्पन्न भएको उनले बताएका छन् । अमेरिकी डलर बलियो हुँदै गएको अहिलेसम्मको अवस्था कायम छ।

राष्ट्र बैंकको शुक्रवारको मूल्य सूची अनुसार १ अमेरिकी डलरको विक्री मूल्य १३२.०५ रुपैयाँ छ। तर फेडरल रिजर्भले अब थप ब्याजदर बढाउँदैन भन्ने बजारको संशय देखिएको उनले बताए ।

मार्च महिनामै सिलिकन भ्याली बैंक (एसभीबी) र सिग्नेचर बैंक सङ्कटमा परेपछि अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकाको वित्तीय प्रणाली सुरक्षित रहेको आश्वासन दिए तापनि एसियाली तथा युरोपेली शेयर बजार आश्वस्त हुन सकेका देखिँदैनन्।

सेयर बजारका कारोबारीहरूले समेत सुनमा नै लगानी बढाइरहेको बताइएको छ । भट्ट थप्छन्, ‘तेलको मूल्य समेत विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितताले तल आइरहेको छ। आर्थिक मन्दी हुनसक्ने चिन्ता छ।’

लगानीकर्ताहरूले अन्तर्राष्ट्रिय बजारमा मुख्य रूपमा अमेरिकी डलर वा सुन वा पेट्रोलियम पदार्थजस्ता कच्चा पदार्थमा लगानी गर्छन्। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिकरत्न शाक्यले उच्च भाउका कारण नेपाली बजारमा कारोबार अहिले ‘ठप्पजस्तै’ रहेको बताउँछन्।

‘भाउ अझै केही बढ्ने नै देखिन्छ। नेपालीहरूको क्रय शक्ति बढेको छैन। त्यसले सुन बजार निकै सङ्कटमा देखिन्छ’ शाक्य भन्छन्। नेपालमा दुई साताअघि एकैदिन झण्डै ३ हजार रूपैयाँले बढेर सुनको मूल्य अहिलेसम्मकै उच्च प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको थियो।
बीबीसीको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here