भृकुटीमण्डपमा ‘फूल मेला’, तीन दिनमा ८४ लाखको कारोबार (फोटोफिचर)

काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा २४ औँ फ्लोरा एक्स्पो यही चैत १७ गतेदेखि काठमाडौँमा सुरु भएको छ।

काठमाण्डौंको भृकुटीमण्डप प्रदर्शनीहलमा आयोजित एक्स्पोमा करिब ६० वटा स्थलहरु रहेको छ भने प्रदर्शनीमा ४५० प्रजाति भन्दा बढीको फुल र फुलका बिरुवाहरु राखिएका छन्।

मेलामा मौसमी फूल फूल्ने तथा नफूल्ने आलंकारी बोट बिरुवाहरू, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बिउबिजन, ग्रीनहाउस, कृषि खेती प्रविधि, जैविक विषादी, पुष्प सजावटका प्रदर्शनी तथा विक्री कक्ष रहेका छन् ।

सयपत्री, श्रीखण्ड, जाई, बटम गुलाब, पारिजात, कनक, चम्पा, चुवा, टक्कर, प्रेमलता, जखेरा, गजेनिया, गलैंचा फूल, सिडम प्रिमुला, जिरानिया, सिनेरिया, भ्यागुत्ते, सोली, असर्फी, सिजियन्थस, डेजी, निमासिया, अजेलियालगायतका फूल मेलामा देख्न सकिन्छ । यस्तै स्नेक प्लान्ट, पिस लिली, फिडल लिफ, अम्ब्रेला, लक्की ब्याम्बो, कम्प्याक्ट ड्रेसालगायतका बोटविरुवा पनि राखिएका छन ।

सुन्तला, मुन्तला, कागती, स्याउ, आरुलगायत ४५० भन्दा बढी फलफूलका बिरुवा प्रदर्शनीमा राखिएका छन् । फूल र बोटबिरुवा ५० रुपैयाँदेखि ५० हजार रुपैयाँसम्मका फूल र बोटबिरुवा बिक्रीमा छन् । मेलामा काठमाडौं कागेश्वरीका प्रदीप सिम्खाडाले त एउटै बोटमा सातवटा फल फलाएका छन् ।

यस मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता पुष्प व्यवसायीहरूको समेत सहभागि जनाएका छन् । फूल मेलाको आज अन्तिम दिन रहेको छ । ३ दिनमा यस मेलालामा ८४ लाख रुपैयाँको कारोबार भएको एशोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताए ।

चैत्र १७ गतेबाट सुरु भएको यो मेलामा पहिलो दिन ४ हजार ७०० ले अवलोकन गरेका थिए । दोस्रो दिन १७ हजारले अवलोकन गरेको तामाङले जानकारी दिए । तेस्रो दिन ११ हजार बढि मानिसहरुले फूल मेलाको अवलोकन गरेका छन् ।

हालसम्म कुल ३२ हजार ७ सय बढी मानिसहरुले मेलाको अवलोकन गरेको उनको दाबी छ ।

तस्विर: दिपक घिमिरे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here