एडीबीको अनुमान- ‘नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा खुम्चिन्छ’

काठमाडौं, २१ चैत । एसियाली विकास बैंकले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर खुम्चिने प्रक्षेपण गरेको छ।

एसियाली विकास बैंकले डेभलपमेन्ट आउटलुकमा प्रकाशित गर्दै नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा सीमित हुने अनुमान गरेको हो ।

यस अघिका दुई आर्थिक वर्षमा नेपालले आर्थिक वृद्धिको प्रक्षेपित लक्ष्य भेटाउन नसकिरहेको अवस्थामा एडीबीले २०२३ का लागि आर्थिक वृद्धिको लक्ष्य प्रक्षेपण गरेको हो ।

सन् २०२२ मा ५.८ प्रतिशत रहेको नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा ४.१ र सन् २०२४ मा ५ प्रतिशत हुने प्रक्षेपण एडीबीको छ ।

राष्ट्र बैंकले कसिलो मौद्रिक नीति सार्वजनिक गरेसँगै नेपालको खुद गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर सुस्त गतिमा भएको र अर्थतन्त्रमा आन्तरिक मागमा कमी आएको एडीबीले जनाएको छ ।

दक्षिण एसियाली मुलुकमध्ये यस वर्ष श्रीलंकाको आर्थिक वृद्धिदर नकारात्मक रहने छ भने अन्य सबै देशको सकारात्मक रहने प्रक्षेपण एडीबीको छ ।

भारतले ६.४ प्रतिशत, माल्दिभ्सले ७.१ प्रतिशत, बंगलादेशले ५.३ प्रतिशत, भुटानले ४.६ प्रतिशत र पाकिस्तानले शून्य दशमलव ६ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्नेछन् । मुद्रास्फीति पाकिस्तानमा २७.५ प्रतिशत र श्रीलंकामा २४.६ प्रतिशत रहने अनुमान छ ।

नेपाल र माल्दिभ्सको आर्थिक वृद्धिदरमा पर्यटनमा आएको पुनरुत्थान र जलविद्युत उत्पादनमा आएको वृद्धिले ठूलो सहयोग गरिरहेको एडीबीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here