काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएका सांसद ढाकाकुमार श्रेष्ठलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ।
श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले स्पष्टीकरण सोधेको हो ।
मुकुल ढकालले आइतबार दिउँसो एक विज्ञप्ति जारी गर्दै उक्त अडियोबारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
‘केन्द्रीय अनुशासन तथा आचरण समितिद्वारा यस सम्बन्धमा २४ घन्टाभित्र स्पष्टीकरण पेश गर्न श्रेष्ठलाई निर्देशन दिइएको छ,’ विज्ञप्तिमा भनिएको छ।
रास्वपाले उक्त टेलिफोन वार्ताका सम्बन्धमा सत्यतथ्य छानबिन गरी ३ (तीन) दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई पनि निर्देशन दिइएको छ।

























