सच्चियो ‘मावली थर’ राख्ने व्यवस्था ‘बाबुविहीन’ बच्चाको जन्मदर्ता आमाको थरबाट

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आलोचित भएपछि मावली थर प्रयोग गरी बच्चाको जन्मदर्ता गरिदिने भन्दै जारी गरेको परिपत्र सच्याएको छ।

विभागले ‘मावली थर’ राख्ने भनी व्यवस्था भएको ठाउँमा ‘बच्चा जन्मिँदा कायम आमाको थर र ठेगाना’ भनी उल्लेख गरेको छ। यसअघिको परिपत्रमा मावली थर प्रयोग गर्न भनिएको थियो। आइतबार भने बच्चा जन्मिँदा कायम आमाको थर प्रयोग गर्ने भनिएको छ।

परिपत्रले आमाबुवाको सम्बन्ध विच्छेद भएर आमासँगै रहने बच्चाको जन्मदर्ता बाबुको ठेगानामा भएको रहेनछ भने आमाकै हालको ठेगानामा गरिदिन पनि भनेको छ।