प्रधानमन्त्रीलाई गगन थापाको आग्रह- ‘बालेन शाहसँग तत्काल वार्ता गरेर जायज माग पूरा गरियोस्’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारलाई काठमाडौं महानगरपालिकासँग आवश्यक विषयमा समन्वय गर्न माग गरेका छन्।

सोमवार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै काठमाडौं–४ बाट निर्वाचित सांसद थापाले यस विषयमा तत्काल बालेन शाहसँग वार्ता गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

उनले भने, ‘बाग दरबार र सिंहदरबारबीच टकराब देखिएको छ। काठमाडौं महानगरपालिकाको फोहोर नउठाउने भनेर जनप्रतिनिधि आफ्नो असहमति प्रकट गर्दै गर्दा अत्यावश्यक सेवा अवरुद्ध गराएर आफ्नो माग पूरा गराउने शैली यो ठिक वा बेठिक बहस हुन सक्ला।’

‘प्रधानमन्त्रीलाई आग्रह मेरो आग्रह छ, काठमाडौं महानगरपालिका प्रमुखसँग तत्काल वार्ता गरियोस्, जायज माग पूरा गरियोस्, यसमा काठमाडौंबाट निर्वाचित जनप्रतिनिधिलाई पनि सहभागी गराइयोस्’ उनले भने ।

संघीय सरकारले बनाउनुपर्ने कानुन नबनाउँदा र अन्तर तह समन्वय गर्नुपर्ने संयन्त्रहरुलाई सक्रिय नराख्दा स्थानीय तह र प्रदेशहरुले राम्रोसँग काम गर्न नसकेको थापाले बताए ।

मेयर बालेन शाहले संघीय सरकारप्रति असहमति प्रकट गर्दै सिंहदरबारभित्रको फोहोर नउठाउन निर्देशन दिएका छन् । देशको प्रमुख भिआइपी एरिया राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवास र सिंहदरबारको फोहोर आजपनि उठेको छैन।

शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै काठमाडौंका मेयर बालेन शाहले सिंहदरबारको फोहोर आजदेखि नउठ्ने बताएका थिए।

सहरी विकासअन्तर्गत परिवर्तन नेपाल नामक संस्थाले राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवास र सिंहदरबार क्षेत्रको फोहोर उठाउने र सरसफाइ गर्ने काम गर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here