पाँच वर्षपछि पुनः सञ्चालनमा आयो टेकुको बायोग्यास प्लान्ट

काठमाडौं । काठमाडौं महानगरपालिकाले पाँच वर्षदेखि बन्द रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याएको छ।

फोहोरबाट ऊर्जा उत्पादन गर्ने लक्ष्यसहित युरोपियन युनियन र महानगरको आर्थिक लगानीमा टेकुस्थित वातावरण विभागको परिसरमा जडान गरिएको बायोग्यास प्लान्ट मर्मत गरी गत शनिबारदेखि पुनः सञ्चालनमा ल्याएको महानगरले जनाएको छ।

महानगरका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले कुहिने फोहोरबाट बिजुली र ग्यास उत्पादन गरी नवीकरणीय ऊर्जा उत्पादन गर्ने तथा कुहिने फोहोरको दिगो व्यवस्थापनका लागि परियोजना पुनः सञ्चालनमा ल्याइएको बताए।

उक्त प्लान्ट विगत दुई महिनादेखि राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गरी पुनः सञ्चालनमा आएको हो। परियोजना सञ्चालनका लागि युरोपियन युनियनले चार करोड ६० लाख र महानगरले एक करोड ८२ लाख रूपैयाँ लगानी गरेको थियो।

एकीकृत फोहोरमैला व्यवस्थापन परियोजनाअन्तर्गत सञ्चालित परियोजनाका लागि दैनिक तीन मेट्रिक टन जैविक फोहोर आवश्यक पर्छ। उक्त परियोजनाको तीन हजार किलो जैविक मल उत्पादन हुनाको साथै १४ किलोवाट बिजुली र १३ हजार पाँच सय लिटर प्रशोधित पानी उत्पादन गर्ने क्षमता छ। अहिले बिजुली उत्पादनकै लागि फोहोर जम्मा गरेर कम्पोस्टिङ गर्ने काम भइरहेको छ।

२०७० सालदेखि परीक्षणका रूपमा उक्त परियोजना सञ्चालन गरिएको थियो। २०७४ सालमा तत्कालीन नगरप्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरी आधिकारिक रूपमा सञ्चालन भएको थियो। तर लामो समयदेखि प्लान्ट बन्द हुँदा बायोग्यास उत्पादनका साथै बायो ऊर्जासम्बन्धी अध्ययन तथा विद्यावारिधि गर्ने विद्यार्थीलाई समेत समस्या भएकाले पुनः सञ्चालनमा ल्याइएको बताइएको छ। प्लान्ट सञ्चालनमा आएसँगै महानगरले कुहिने फोहोर व्यवस्थापनमा सहयोग पुग्ने विश्वास लिइएको छ।

त्यसैग महानगरले फोहोरको थप व्यवास्थापन गर्न भन्दै कम्पोस्ट मल बनाउने काम सुरू गरेको छ। टेकुस्थित ट्रान्सफर स्टेसनमा एक स्थानबाट मात्रै कुहिने फोहोरबाट मल बनाउन सुरू गरेको महानगरले पुनः टेकुमै अर्को एक स्थानमा कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउन थालिसकेको छ।

आगामी एक महिनाभित्र बञ्चरेडाँडामा पनि उक्त प्रक्रिया सुरू गर्ने तयारी महानगरको छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here