ब्याजदर घटेपछि नेप्सेमा उछाल, ७ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजारमा उछाल आएको छ । वैशाखदेखि निक्षेपको ब्याजदर घट्ने समाचार बाहिरिएसँगै नेप्सेमा उछाल आएको हो।

साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से)९२.२२ अंकले बढेर १९६३.५५ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २६७ कम्पनीको १ अर्ब ९७ करोड ६० लाख ७६ हजार ७३२ रुपैयाँ बराबरको ६१ लाख ७ हजार ४२५ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । मंगलवार ९४ करोड ५२ लाख ४९ हजार १७९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । ७ कम्पनी शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ११ करोड ७१ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

बुधबार बिहान बसेको नेपाल बैंकर्स संघको बैठकले वैशाखदेखि लागू हुने गरी निक्षेपको ब्याजदर १० प्रतिशत कम अर्थात् ९.९९ प्रतिशत कायम गर्ने निर्णय गरेको हो ।

संघका अनुसार अब वैशाखदेखि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत मुद्दतीको ब्याजदर ७.९९ प्रतिशत कायम हुनेछ । हाल व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११.११ प्रतिशत र संस्थागत मुद्दतीमा ९.११ प्रतिशत थियो ।

यस्तै, बचतमा न्यूनतम ५.४ प्रतिशत र अधिकतम ७.४ प्रतिशत कायम गर्ने सहमति भएको संघले जनाएको छ । अब बैंकहरुले वैशाखमा माघदेखि घटेको निक्षेपको ब्याजदरका आधारमा बेसरेट पनि घट्ने र सोही आधारमा कर्जाको ब्याजदर घटाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here