भारत बन्यो विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश

काठमाडौं । भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ ।

युनाइटेड नेसन्स पोपुलेसन फन्ड (यूएनएफपीए) ले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार चीनलाई पछि पार्दै भारत सबैभन्दा बढी जनसंख्या भएको देश बनेको हो । विश्वको जनसंख्या पछिल्लो दुई सय वर्षमा तीव्र रुपमा बढेको हो।

यूएनएफपीएको ‘द स्टेट अफ वर्ल्ड पोपुलेसन रिपोर्ट २०२३’ अनुसार भारतको जनसंख्या १,४२८.६ मिलियन रहेको छ । जबकी चीनको जनसंख्या १,४२५.७ मिलियन रहेको रिपोर्टलाई उदृत गर्दै आईएएनएसले जनाएको छ ।

यसका अर्थ भारतको जनसंख्या चीन भन्दा २.९ मिलियन बढी छ । सन् १९५० मा संयुक्त राष्ट्रसंघले जनसङ्ख्या तथ्यांक संकलन र जारी गर्न थालेपछि भारतको जनसंख्याले चीनलाई उछिनेको यो पहिलो पटक हो ।

गएको वर्ष चीनको जनसंख्या घट्न थाल्यो भने भारतको जनसंख्या बढेको छ । प्रतिवेदनअनुसार सरदर आयुमा भने भारतभन्दा चीन अगाडि छ ।

चीनमा महिलाको सरदर आयु ८२ वर्ष तथा पुरुषको ७६ वर्ष छ भने भारतमा महिलाको सरदर आयु ७४ र पुरुषको ७१ वर्ष रहेको यूएनएफपीएलाई उद्धृत गर्दै समाचारसंस्था पीटीआइले जनाएको छ ।

सन् १९८७ को जुलाई ११ का दिन विश्वको जनसंख्या ५ अर्ब पुगेको थियो । २ सय वर्षअघि विश्वको जनसंख्या १ अर्ब थियो र त्यो १ अर्ब जनसंख्या हुन लाखौं वर्ष लागेको थियो ।

तर १ अर्बबाट ७ अर्ब पुग्न करिब २ सय वर्षमात्र लाग्यो । सन् २०११ मा विश्वको जनसंख्या ७ अर्ब पुगेको थियो । त्यसयताको ११ वर्षमा विश्वमा १ अर्ब जनसंख्या थपिँदै छ ।

यूएनको वर्ल्ड पोपुलेसन प्रोस्पेक्ट्स २०२२ ले पनि सन् २०२३ मा भारतले जनसंख्याको हिसाबमा पछि पार्दै प्रक्षेपण गरेको थियो ।

रिपोर्टका अनुसार १४ वर्षमूनीको जनसंख्या २५ प्रतिशत छ भने १० देखि १९ वर्ष समूहको जनसंख्या १८ प्रतिशत रहेको छ । १० देखि २४ सम्म २६ प्रतिशत, १५ देखि ६४ सम्म ६८ प्रतिशत तथा ६५ वर्षमाथि ७ प्रतिशत छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here