चैतसम्म व्यापार घाटा १० खर्ब ८३ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको चैतमा ९ महिना यताकै धेरै विदेशी वस्तु आयात भएको छ । सरकारले आयात खुकुलो बनाएसँगै चैतमा यस वर्षकै धेरै आयात भएको हो ।

भन्सार विभागको तथ्यांक अनुसार चैतमा १ खर्ब ४३ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो चालु वर्षकै धेरै हो। यसअघि गत भदौमा १ खर्ब ४२ अर्बको वस्तु आयात भएको थियो ।

चैत मसान्तसम्म कुल १२ खर्ब १ अर्ब ५० करोड रुपैयाँ वस्तु आयात भएको छ । सरकारले पुस १ देखि गाडी, मोबाइल लगायत विलासी वस्तुको आयात प्रतिबन्ध खुलाएको थियो भने माघ ५ देखि एलसी खोल्दा चाहिने नगद मार्जिनको प्रावधान हटाएको थियो ।

चैत मसान्तसम्म नेपालले कुल १३ खर्ब १९ अर्ब रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार गरेको छ । जसमा १२ खर्ब १ अर्ब रुपैयाँको वस्तु आयात हुँदा १ खर्ब १८ अर्ब रुपैयाँको निर्यात भएकाे छ ।

व्यापार घाटामा सुधार

चालु आवमा व्यापार घाटामा सुधार आएको छ । गत वर्षको चैतको तुलनामा चालु आवमा व्यापार घाटा १७.०६ प्रतिशत कम हो ।गत वर्षको चैतसम्म कुल १३ खर्ब ६ अर्ब रुपैयाँ व्यापार घाटा रहेकोमा चालु आवको सोही अवधिमा १० खर्ब ८३ अर्बमा सीमित भएको छ ।

समीक्षा अवधिमा आयात र निर्यात दुवै घटेको छ । आयात गत आवको यसै अवधिको तुलनामा १८.०८ प्रतिशत र निर्यात २६.३४ प्रतिशतले खुम्चिएको छ ।

चैत मसान्तसम्म कुल १२ खर्ब १ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने कुल १ खर्ब १८ अर्बको निर्यात भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here