फास्ट ट्रयाकको म्याद थप, हालसम्म ४१ अर्ब ३६ करोड रुपैयाँ खर्च

काठमाडौं । तोकिएकै समयमा निर्माण सम्पन्न नहुने भएपछि सरकारले काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक)को म्याद थप गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले आयोजनाको म्याद थप्ने निर्णय गरेको हो ।

४ वर्षमा सम्पन्न गर्ने गरी २०७४ जेठदेखि निर्माण सुरु गरिएको फास्टट्रयाकको पछिल्लो पटक थपिएको म्याद २०८१ मंसिरमा सकिँदै छ । सो अवधिमा पनि काम नसकिने भएपछि सरकारले २०८३ चैतसम्म म्याद थपेको हो ।

निर्माण सुरु भएको ५ वर्ष बितिसक्दा हालसम्म एक चौथाई पनि काम पूरा भएको छैन । पछिल्लो प्रगति विवरण अनुसार हालसम्म आयोजनाको २३.१८ प्रतिशत मात्र काम पूरा भएको छ भने अझै ७६.८२ प्रतिशत काम बाँकी छ ।

आयोजना अन्तर्गत हालसम्म ४१ अर्ब ३६ करोड रुपैयाँ खर्च भएको छ । सुरुआती अनुमानित लागत १ खर्ब १६ अर्ब रुपैयाँ रहेकोमा अहिले बढाएर १ खर्ब ७५ अर्ब रुपैयाँ पुर्‍याइएको छ ।

ललितपुरको खोकनाबाट सुरु हुने फास्टट्रयाक मकवानपुर हुँदै बाराको निजगढमा पूर्वपश्चिम राजमार्गसँग जोडिने यो सडकको लम्बाइ ७२.५ किलोमिटर छ । जसमा ५५.५ किलोमिटर सडकखण्ड, महादेव, धेद्रे र लेन डाँडामा गरी ६.४१ किमीका तीन सुरुङ र करिब १० किमी लम्बाइ बराबरका लामो र छोटा गरी ८७ पुल रहने छ ।

७२.५ किमी सडकलाई ११ वटा प्याकेजमा विभाजन गरिएको छ । सोमध्ये ७ प्याकेजको ठेक्का लागि काम भइरहेको छ भने अझै ४ प्याकेजको ठेक्का लाग्नै सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here