काठमाडौं । गुल्मीमा आगो निभाउने क्रममा एक जना बालकको ज्यान गएको छ । आगोमा जलेर घाइते भएका धुर्कोट गाउँपालिका–३ हाडहाडेका १३ वर्षीय दीपक मुखियाको उपचारका क्रममा आज बिहान मिसन अस्पताल पाल्पामा ज्यान गएको हो ।
बर्दवास जङ्गलमा लागेको आगो बस्तीमा आउन थालेपछि परिवारसहित आगो निभाउन गएका मुखियालाई आगोको लप्काले पोलेको थियो ।
आगो निभाउने क्रममा हाडहाडेकै ५५ वर्षका धनबहादुर कुँवर घाइते भएका छन् । उनलाई पाल्पामा उपचार हुन नसकेपछि आज बिहान थप उपचारका लागि बुटवल रेफर गरिएको सशस्त्र प्रहरी बल नेपाल गुल्मीका सशस्त्र प्रहरी नायब उपरीक्षक निवनकुमार खड्काले जानकारी दिएका छन् । गुल्मीको ईस्मा गाउँपालिकामा हिजो भएको आगलागीमा दुई वटा घर र तीन वटा गोठ पूर्णरुपमा नष्ट भएका छन् ।
स्थानीय सामुदायिक वनबाट लागेको आगो एक्कासी गाउँ पसेपछि घररगोठसहित अन्न र लत्ता कपडा जलेर नष्ट भएको स्थानीय बोमबहादुर कुमालले जानकारी दिए । दुई हप्तादेखि गुल्मीका सामुदायिक वन एवम् राष्ट्रिय वनमा डढेलो र आगलागीका घटना बढेका छन् ।