चितवन-२ मा बिहानैदेखि मतदाता लाइनमा, तनहुँ-१ मा राजमार्ग ठप्प पारेर मतदान चल्दै

फाइलफोटो

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा आज बिहान ७ बजेबाट उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । क्षेत्रका सबै मतदानस्थलमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यका अनुसार अहिले बिहान ७ वजेबाट मतदान सुरु भएको छ ।

यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार छन् । उनीहरूसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् ।

पृथ्वीराजमार्गको तनहुँ–१ खण्ड तथा स्थानीय राजमार्ग पूर्णरूपमा बन्द भएको छ । आज हुने उपनिर्वाचनको संवेदनशीलतालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सबै सडकमा यातायात सञ्चालनमा रोक लगाएको हो ।

मुग्लिन पुलबाट व्यास नगरपालिकाको चापाघाटसम्म, डुम्रे–बेँसीसहर सडकखण्ड, आँबुखैरेनी–गोरखा सडकखण्ड, दमौली–दुईपिप्ले सडकखण्डलगायत सम्पूर्ण स्थानीय सडकमा यातायात बन्द रहने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए। तनहुँ जिल्ला भएर सञ्चालन हुने रात्रिबस बिहान ४ बजेअगावै जिल्ला पार गरिसक्न प्रशासनले आग्रह गरेको छ ।

उक्त दिन दमकल, एम्बुलेन्स, खानेपानी ट्याङ्कर, दूध बोक्ने सवारीसाधन, शववाहन, फोहरमैला ओसार्ने सवारीसाधन, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालको पत्रसहित चलेको सवारीसाधन र सूचना तथा प्रसारण विभागबाट जारी प्रेसपास भएको पत्रकार चढेको सवारी भने निर्वाध सञ्चालन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here