गण्डकी र लुम्बिनी प्रदेशमा आज नयाँ सरकार बन्ने

काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशमा बिहीबार नयाँ सरकार बन्ने भएको छ । संघमा एमाले र माओवादी केन्द्रबीचको सत्ता समीकरण बललिएपसँगै यी दुवै प्रदेशमा कांग्रेस र माओवादी संयुक्त सरकार बन्न लागेकाे हाे ।

२७ पुसमा गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्त भएका एमालेका खगराज अधिकारीले दोस्रोपटक विश्वासको मत पाउन नसकेपछि ९ वैशाखमा पदमुक्त भएका थिए । लुम्बिनीमा वैशाख ११ गते एमालेका मुख्यमन्त्री लिला गिरिले विश्वासकाे मत गुमाएपछि पदमुक्त भएका हुन् ।

गण्डकीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्रीको दाबी पेश गर्ने भएका छन् । ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसद आवश्यक पर्छ ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि अपराह्न ४ बजेसम्मको समय दिएका छन् । सोही समयअगावै पाण्डेले कांग्रेस, माओवादी केन्द्रसहितको समर्थनमा मुख्यमन्त्री दाबी गर्न लागेका हुन् ।

प्रदेशसभामा कांग्रेसका २७, माओवादी केन्द्रका ७ र स्वतन्त्र सदस्य दीपक मनाङ्गे गरी ३५ जना रहेका छन् । मंसिरमा भएको प्रतिनिधिसभा सदस्यमा गोरखा २ बाट उम्मेदवार चाहेका थिए । तर त्यहाँ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेदवार बन्ने भएपछि उनी मुख्यमन्त्री बन्ने सर्तमा प्रदेश सभामा झरेका थिए । चुनावी सभामा प्रचण्ड–बाबुरामले पाण्डेलाई भावी मुख्यमन्त्रीका रूपमा प्रचार गरेका थिए । गरखा–२ (२) बाट निर्वाचित भएका उनी पहिलो चरणमा मुख्यमन्त्री बन्ने पक्का भएको हो ।

यो प्रदेशमा कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो मुख्यमन्त्री बन्न शीर्ष तहमै सहमति भएको गण्डकी माओवादी संसदीय दलका नेता हरिबहादुर चुनामले जिकिर गरेका छन् । उनले दोस्रो चरणमा मुख्यमन्त्री बन्ने सुनिश्चितसहित कम्तिमा तीन मन्त्रालय माओवादीले पाउनुपर्ने अडानमा रहेका छन् ।

यसैगरी लुम्बिनीमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बन्न लागेका छन् । यहाँपनि कांग्रेस र माओवादीबीच आलोपालो सरकारको नेतृत्व गर्ने गरी सहमति भएको नेताहरूको दाबी छ ।

माओवादी लुम्बिनीका अध्यक्षा सुदर्शन बरालले कांग्रेस र माओवादीले आलोपालो सरकार बनाउने गरी मौखिक सहमति भएको जिकिर गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here