चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा, शुक्रबारबाट शुरु हुँदै

काठमाडौं, २० बैशाख । सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० को तयारी पूरा भएको छ ।

उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पु-याउने उद्देश्यले औद्योगिक प्रदर्शनी हुन लागेको आयोजक चितवन उद्योग संघले मंगलबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

संघले जारी गरेको विज्ञप्तिका अनुसार प्रदर्शनी बैशाख २२, २३ र २४ गते चितवन प्रदर्शनी केन्द्र भरतपुरमा आयोजना हुुन गईरहेको हो ।

प्रदर्शनी चितवन उद्योग संघको आयोजना तथा नेपाल उद्योग परिसंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघको अभिभावकत्वमा आयोजना हुँदैछ । यसलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, बागमती प्रदेशको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, घरेलु तथा साना उद्योग कार्यालय चितवन र चितवनका स्थानीय पालिकाहरुले प्रवद्र्धन गरेका छन् ।

औद्योगिक मेशिनरी र प्रविधिसहित निर्माणजन्य, कृषिजन्य, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, प्रिन्टिङ्ग, प्याकेजिङ्ग, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेज तथा अन्य सेवामूलक उद्योगहरुको उत्पादनको प्रदर्शनी हुने औद्योगिक प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी १ सय ५० भन्दा बढी स्टलहरु रहने छन् । केही स्टल बैशाख २१ गतेसम्म बुकिङ गर्न सकिनेछ ।

प्रदर्शनी अवलोकनका लागि निःशूल्क प्रवेशको व्यवस्था गरिएको छ । उद्यमीहरुलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गर्ने तथा नविनतम प्रविधि हस्तान्तरणको वातावरण सृजना गर्ने महत्वपूर्ण अवसरको रुपमा प्रदर्शनी रहेको चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले बताए ।

प्रदर्शनीमा स्वदेशी एवम् विदेशी उद्योगीहरूका बीच प्रत्यक्ष भेटघाट तथा छलफल भई औद्यागिक अनुभव तथा ज्ञान आदानप्रदान समेत हुनेछ । प्रर्दशनी नेपाली उद्यमीहरुलाई नयाँ प्रविधिवारे जानकारी गराउँदै युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने, नयाँ उद्यमी जन्माउन सहयोग गर्ने उपयुक्त अवसर बन्ने कँडेलको भनाइ छ ।

संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले प्रदर्शनीको उद्घाटन गर्ने कार्यक्रम छ । प्रदर्शनीको दोस्रो दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तर्फबाट वर्तमान औद्योगिक परिदृश्य, नेपालमा औद्योगिक विकासको सम्भावना र अवसर र नेपाल उद्योग परिसंघको तर्फबाट “मेक इन नेपाल स्वदेशी अभियान” विषयमा गोष्ठी तथा सेमिनार हुनेछ । प्रदर्शनीले वर्तमान समयमा सुस्ताएको अर्थतन्त्रलाई गतिशिल बनाउन समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रदर्शनीमा लघु, घरेलु तथा साना उद्योगहरुलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने साना–साना औजार, मेशिनदेखि ठूला उद्योगमा प्रयोग हुने अत्याधुनिक यन्त्र उपकरणहरु समावेश हुने भएकोले नेपालको औद्योगिक विकासका लागि यस प्रदर्शनीबाट थप बल पुग्ने आयोजकको विश्वास रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here