आइकाओको क्षेत्रीय सम्मेलन काठमाडौंमा, ४३ देशका ४ सय उच्च अधिकारी सहभागी हुने

काठमाडौं, १ भदौं । आइकाओले हरेक वर्ष गर्ने नागरिक उड्डयन महानिर्देशकहरुको सम्मेलन यसवर्ष नेपालमा हुने भएको छ ।

आइतबार एक पत्रकार सम्मेलन गरी सोमबार देखि शनिबारसम्म काठमाडौंमा एशिया प्रशान्त क्षेत्रीय हवाई महानिर्देशकहरुको सम्मलेन हुने जानकारी दिइएको हो ।

सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरु, यूरोपियन युनियनको नियामक निकायका प्रमुख, अमेरिका, बेलायत, फ्रान्सका नियामक निकायका प्रतिनिधिका साथै बोइङ, एयरबस लगायतका हवाइ निर्माता कम्पनीका प्रतिनिधि समेत सहभागी हुँदैछन् ।

सम्मेलनमा आइकाओ काउन्सिलका अध्यक्ष डा. अल्मुयीवा बनार्ड अलेउ, आइकाओका विभिन्न विभागका निर्देशकहरु, एसिया प्रशान्त क्षेत्रीय निर्देशक लगायत उच्च पदाधिकारीहरु सहभागी हुने जानकारी दिइएको छ ।

नेपालमा हुने यस सम्मेलनमा यस क्षेत्रका ४३ मुलुकका २९१ प्रतिनिधि २६ वटा प्रवद्र्धक संस्था लगायत ४०० जना विदेशीको सहभागिता रहनेछ ।

यस वर्ष सम्मेलनको शिर्षक ‘हार्मोनाइजिङ एफोर्ट्सक टु मिट क्यापासिट कन्स्ट्रेन्ट्स’ रहेको छ ।

हरेक वर्ष आयोजना हुने यो सम्मेलनबाट उड्डयन सुरक्षा, क्षमता, एयर नेभिगेसन, आर्थिक विकार र हवाइ ढुवानी, उड्डयन र वातावरण प्राविधिक र क्षेत्रीय सहकार्य लगायत नागरिक उड्डयन सँग सम्बन्धित अन्य समसामयिक विषयवस्तुमा कार्यपत्रहरु प्रस्तुत गरिने र त्यसमाथि गहन छलफल हुने छ ।

विश्वस्तरमा हुने यस सम्मेलनबाट आइकाओलाई नागरिक उड्डयनको क्षेत्रमा नीति तथा कार्यक्रम तर्जुमा गर्न सघाउ पुग्ने विश्वास लिइएको छ ।

नेपालले यसअघि सन् १९७८ र १९९८ मा पनि यस्तो सम्मेलन आयोजना गरेको थियो ।

आइकाओमा नेपाल लगायत १९३ सदस्य राष्ट्रहरु रहेका छन् ।

विश्वमा सुरक्षित, नियमित र प्रभावकारी नागरिक उड्डयनको लागि आइकाओले उड्डयन सम्बन्धि नियम, मापदण्ड बनाउने, निर्देशिका जारी गर्ने आदी काम गर्छ र सोही बमोजिम सदस्य राष्ट्रहरुले नागरिक उड्डयन सम्बन्धि नियम कानून बनाइ लागू गर्छन् ।

सदस्य राष्ट्रहरुबाट नागरिक उड्डयन सम्बन्धि नियम मापदण्ड सिफारिस तथा मार्गदर्शक सिद्धान्तको परिपालन भए नभएको सम्बन्धमा समेत आइकाओले नियमित निगरानी गर्छ ।

यस्तै, यसै वर्ष आइकाओको स्थापनाको ७५ औं वर्ष पुगेको अवसरमा आइकाओले बनाएको विशेष झण्डालाई २३ मे २०१९ मा सगरमाथाको शिखरमा पुर्याइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here