ओझेलमा तीजको रौनक, यूट्यूब रविको कब्जामा

काठमाडौं, ५ साउन । नेपाली हिन्दु महिलाको महान चाड तीज ढोकैमा आइसकेको छ ।

महिला दिदिबहिनी एकै स्थानमा भेला भएर नाचगान गर्ने, केही दिनका लागि घरको दौडधुपबाट पर आमाको काखमा पुगी मिठो मसिनो खाने यस चाडको मौलिकपनः हट्दै गएको सन्दर्भमा यूट्यूब र पार्टी प्यालेसले केही हदसम्म तीजको रौनक धानेका थिए ।

तर, यस वर्ष भने तीजको रौनकमा धपक्क बादल लागेको छ । यूट्यूब च्यानलहरुमा पुडासैनी आत्महत्या काण्ड र टिभि प्रस्तोता रवि लामिछानेका सम्बन्धमा अतिरिन्जित सामग्रीले उच्च स्थान पाउँदा तीजको माहौल ओझेलमा परेको छ ।

यूट्यूब ट्रेंडिंग विश्लेषण गर्दा ट्रेंडिंगको पहिलो नम्बरमा नेपाली चलचित्र ‘कृ’ देखिन्छ । दोस्रो नम्बरमा ‘द भ्वाइस अफ नेपाल सिजन टू’को पहिलो एपिसोड रहेको छ ।

त्यसपछि भने निरन्तर रवि लामिछानेबारे बनाइएका विभिन्न सामग्री रहेका देखिन्छन् । अझ रोचक पक्ष त के छ भने २१ औं शताब्दीका आधुनिक नेपाली दर्शक रवि लामिछानेबारे माताले के भनिन् भन्ने एक सामग्रीलाई अत्यधिक रुचिका साथ हेरिरहेका छन् ।

रवि लामिछानेको खुलासा माताले गरिन शिर्षकमा यो सामग्री ट्रेंडिंगको तेस्रो स्थानमा देखिन्छ । नेपाल आज नामक च्यानलको सालिकराम पुडासैनीको आत्महत्या अगाडीको भिडियो पाँचौ स्थानमा रहेको छ भने चौथो स्थानमा उनले डोरी किनेको पसल भेटियो भन्ने रहेको छ ।

पत्रकार ऋषि धमलाले वकिल र ज्योतिषसँग प्राइम टिभिका लागि लिएको एक अन्तर्वार्ता पनि दर्शकको रोजाईमा देखिन्छ ।

तर, यूट्यूब ट्रेंडिंगको निकै तलसम्म पनि तीजका मौलिक गीतहरु भने भेटिदैनन् । चर्चित गायक गायिका पनि यस वर्ष रवि लामिछाने काण्डका कारण ओझेलमा परेको देखिन्छ ।

दर्शक लहडको पछि दौडने गरेको स्पष्ट संकेत यस साताको यूट्यूब ट्रेंडिंगले देखाउँछ । किनकी नियमित खालका सामग्रीले यूट्यूबमा स्थान पाएकै छैनन् ।

रवि लामिछाने पक्राउको विषयलाई अतिरन्जित गरेका उत्तेजक सामग्रीले मात्र यसमा स्थान पाएका छन् । नत कुनै आधिकारिक संचारमाध्यमका च्यानल नै यूट्यूब ट्रेंडिंगमा छन् ।

त्यसो त विभिन्न जिल्लामा तीजसँग सम्बन्धित कार्यक्रम भड्किलो नबनाउन आग्रह गर्दै जिल्ला प्रशसन कार्यालयहरुले कडाई थालेका छन् ।

जसले गर्दा तीजको रौनक गत वर्षहरुमा जस्तो देखिएको छैन । पार्टी प्यालेसमा हुने गतिविधिले तीजलाई भड्किलो बनाइरहेको प्रशासनको भनाई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here