जीप र माइक्रोबस असार १ देखि नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने

काठमाडौं । जीप र माइक्रोबस आउँदो असार १ गतेदेखि गोंगबुस्थित नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने भएका छन् । माइक्रोबस तथा जीप समन्वय समितिले आज पत्रकार सम्मेलन गरी आउँदो शुक्रबारदेखि जीप र माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न लागिएको जानकारी दिएको हो ।

समितिका संयोजक राजेन्द्र आचार्यले यसअघि काठमाडौंभित्रका विभिन्न स्थानबाट सञ्चालन हुँदै आएका माइक्रोबस तथा जीपलाई असार १ गतेदेखि गोंगबुस्थित नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न लागिएको जानकारी दिए ।

काठमाडौं महानगरपालिकाले यही जेठ १९ गते लामो, मध्यम तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन नयाँ बसपार्कभित्रबाट सञ्चालन गराउने निर्णय गरेको थियो । उक्त निर्णयको कार्यान्वयनका लागि नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न लागिएको संयोजक आचार्यले बताए ।

“स्थानीय सरकारले गरेको निर्णय मान्न हामी तयार छौँ । उक्त निर्णय सरोकारवाला सबै निकायलाई लागु गराउन महानगरपालिका लाग्नुपर्छ, हामी साथ दिन तयार छौँ । स्थानीय सरकारले कसैलाई काखा र कसैलाई पाखा गर्नु हुँदैन,” उनले भने । यसअघि, नयाँ बसपार्कबाट ठूला सार्वजनिक सवारीसाधन मात्र सञ्चालन हुँदै आएका थिए ।

यसअघि, माइक्रोबस तथा जीप बल्खु, कलंकी, बालाजु, माछापोखरी, गोंगबु, कोटेश्वरलगायत क्षेत्रमा काउन्टर राखेर सञ्चालन हुँदै आएका थिए । अब भने सबै टिकट काउन्टर बसपार्कभित्रै राखिनेछ । सोही स्थानमा आएर टिकट लिन समेत उनले यात्रुलाई आग्रह गरे ।

हाल काठमाडौंबाट पोखरा, नारायणगढ, डुम्रे, दमौली, लमजुङ, गोरखा, धादिङ, त्रिशूली बागलुङ, बेनी, स्याङ्जा, वालिङ, बुटवल, भैरहवा, कोटेश्वरबाट बीपी राजमार्ग हुँदै पूर्व जाने माइक्रोबस र बल्खुबाट हेटौँडा चल्ने टाटासुमो सञ्चालन हुँदै आएका छन् ।

संयोजक आचार्यले नयाँ बसपार्कभित्रबाट माइक्रोबस तथा जीप सञ्चालन गर्न नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुृउदेश्यीय प्रालिसँग समेत सम्झौता गरिसकेको बताए । “नेपालको यातायात क्षेत्रलाई व्यवस्थित र यात्रुमैत्री बनाउन आवश्यक पर्ने संरचना निर्माणका लागि लोत्सेसँग सहकार्य गरेर अगाडि बढेका छौँ,” संयोजक आचार्यले भने ।

उनले नयाँ बसपार्कबाट माइक्रोबस तथा जीप सञ्चालन गर्दा यात्रुको सुविधाका लागि यसअघि सञ्चालन हुँदै आएका क्षेत्रमा निश्चित समयसम्म ‘पिक एन्ड ड्रप’को व्यवस्था गर्न समेत महानगरपालिकासँग आग्रह गरे ।

काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारीसाधनलाई व्यवस्थित तथा पार्किङ गर्न महानगरपालिकाले वि.सं. २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याएको थियो । १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा ८०० भन्दा बढी सार्वजनिक सवारीसाधन राख्न मिल्ने क्षमता छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here