इट्टाभट्टा भत्काइएकोमा उद्योगीको विरोध

भक्तपुर, ११ भदाै । भक्तपुर इट्टा उद्योग व्यवसायी संघले काभ्रेको नमोवुद्धका इट्टाभट्टा भत्काइ दिएकोमा विरोध जनाएको छ ।

संघले एक प्रेस विज्ञप्ति जारी गरी सरकारबाट स्वीकृति लिई सञ्चालित इट्टाभट्टा भत्काइएकोमा खेद व्यक्त गरेको हो ।

काभ्रेको नमोबुद्ध नगरपालिकाले नमोबुद्ध नगरपालिकाको भकुण्डेवेशीमा सञ्चालित ८ वटा इट्टाभट्टा हालै डोजर लगाएर भत्काइदिएको थियो । संघका अध्यक्ष नातिभाई ह्योम्वाले सरकारबाट स्वीकृति लिएर सञ्चालित इट्टाभट्टालाई नगरपालिकाबाट भत्काउनु खेदपूर्ण रहेको बताए ।

उनका अनुसार घरेलु तथा साना उद्योग कार्यालय काभ्रेबाट २०७७ सालसम्म सञ्चालनका लागि ती इट्टाभट्टा अनुमति प्राप्त छन् ।

‘सरकारको एउटा निकायबाट स्वीकृति लिई सञ्चालित इट्टाभट्टा सरकारको अर्काे अंगबाट उल्लंघन गरी भत्काइनु दुखदायी हो’, उनले भने । सरकारको नीति नियम पालन गरी सञ्चालित स्वदेशी उद्योगलाई निरुत्साहित गर्नु दुखको कुरा भएको उनले बताए ।

व्यापार घाटा उच्च विन्दुमा उकालो लागिरहेको बेला स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नुको सट्टा दुरुत्साहित गर्नु विडम्वनापूर्ण भएको उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here