काठमाडौं महानगरले भदौ १ देखि नियमित बजार अनुगमन गर्ने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बजारलाई थप व्यवस्थित गर्नका लागि आगामी भदौ १ देखि नियमित अनुगमन गर्ने जनाएको छ ।

यही साउन महिनाभित्र अनुगमनका लागि सूचक तयार पार्ने, सूचना र विवरण तयार पार्ने, कामको खाका तयार पार्नेजस्ता काम सम्पन्न गरी भदौ १ देखि नियमित अनुगमन गर्ने तयारी कामपाले गरेको छ । कामपाका उपप्रमुख सुनिता डङ्गोलले भदौदेखि नियमित र आकस्मिक अनुगमनलाई नियमित सञ्चालन गर्ने गरी काम भइरहेको बताइन्।

अनुगमन समितिको संयोजनसमेत रहेकी उपप्रमुख डङ्गोलले भनिन्, ‘अहिले पनि आकस्मिकरूपमा अनुगमनको काम भने भइरहेको छ तर यसलाई थप व्यवस्थित र नियमित गर्न लागिएको हो ।’

अहिले ‘अनुगमन कार्यविधि’ तर्जुमाका लागि कार्यदल गठन भई कार्यप्रारम्भ भइसकेको छ । ‘अनुगमन टोली परिचालन कार्यविधि’ तर्जुमाको पनि थालिएको छ । नतिजामुखी अनुगमनका लागि वार्षिक योजना, खरिद योजना, अनुगमन तथा मूल्याङ्कन योजना र नीति कार्यान्वयन योजना मुख्य औजार रहेको बताइएको छ ।

विगतका वर्षहरूमा भने कामपाले आफ्नो अधिकार क्षेत्रमा पर्ने स्थानमा चाडवाड आउनै लाग्दा मात्रै अनुगमनको काम गर्ने गरेको थियो । मौसमीरूपमा गरिएको अनुगमनको काम प्रभावकारी नभएको र त्यसले उपभोक्तालाई राहत नमिलेको भन्दै कामपाले चाडवाड सुरु हुनु केही महिना अघिदेखि नै त्यस्ता काम गर्न लागिएको जनाएको छ ।

चालु आर्थिक वर्षमा कामपाले आफ्नो क्षेत्राधिकारभित्र पर्ने स्थानमा व्यक्तिगत तथा संस्थागत भान्छालाई स्वस्थकर बनाई आरोग्यता कायम गर्न ‘स्वच्छ भान्छा’ कार्यक्रमका लागि रु तीन करोड ५० लाख विनियोजन गरेको छ । कामपाको समग्र स्वास्थ्य कार्यक्रमतर्फ भने कुल रु ९२ करोड ६६ लाख ४४ हजार विनियोजन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here