उपभोग्य वस्तु निर्यातमा भारतको कडाइ, प्याजमा लगायो ४० प्रतिशत कर

काठमाडौं । भारतले एकपछि अर्को उपभोग्य वस्तुको निर्यातमा कडाइ गरेको छ । गत महिना चामल निर्यातमा प्रतिबन्ध लगाएको भारतले अहिले प्याज निर्यातमा कडाइ गरेको हो ।

भारत सरकारले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएको छ । प्याजको मूल्य अस्वभाविक रुपमा बढेसँगै नियन्त्रण गर्न एकैपटक ४० प्रतिशत कर लगाएको हो । यसअघि भारतबाट प्याज निर्यातमा कुनै पनि किसिमको कर लाग्दैन थियो ।

भारतको वित्त मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्याज निर्यातमा कर लगाइएको जानकारी गराएको छ । यो व्यवस्था आगामी डिसेम्बर ३१ सम्म लागू हुने मन्त्रालयले जनाएको छ ।

पछिल्लो एक वर्षको अवधिमा भारतमा प्याजको मूल्य १४ गुणासम्मले बढेको छ । अघिल्लो वर्षको अगस्टमा प्रतिकिलो २ रुपैयाँ रहेको प्याजको मूल्य हाल प्रतिकिलो २८ रुपैयाँ पुगेको अल इण्डिया रिटेल प्राइसले जनाएको छ । यही बढ्दो मूल्यलाई नियन्त्रण गर्न प्याज निर्यातमा उच्च कर लगाएको हो ।

भारतले प्याज निर्यातमा उच्च कर लगाएसँगै त्यसको प्रभाव नेपाली बजारमा पर्ने छ । नेपाल प्याजमा आत्मर्निभर नभएकाले ठूलो मात्रमा भारतबाट आयात हुने गरेको छ ।

नेपालले भारतबाट प्याज आयात गर्ने गरेका कारण यसको प्रभाव नेपाली बजारमा पनि पर्नेछ । नेपालले गत आवमा मात्रै पौने ७ अर्ब रुपैयाँ बराबरको १८ करोड केजी प्याज आयात भएको थियो ।

नेपाल सरकार चालु आवको बजेटबाट प्याज आयातमा भ्याट लगाउने घोषणा गरेसँगै गत जेठमा प्याजको भाउ प्रतिकेजी १५० रुपैयाँसम्म पुगेको थियो । साउन लागेपछि केही सस्तिएको प्याजको भाउ भारतले कर लगाएसँगै अब फेरि आकाशिने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here