काठमाडौं, १३ भदौ । जुम्लाको पातारासी गाउँपालिकाकी चैती विष्टलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइ भएको छ ।
चन्दननाथ १० कि माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न व्यस्त देखिएकी छि न् । उनीहरू दुवैको स्याउ बारीमा करीब १५० स्याउका बोट छन् । उनीहरूलाई मात्र होइन, जिल्लाका किसानलाई अहिले स्याउ टिप्ने चटारो छ ।
भदौ लागेसँगै किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । अधिकांश किसान बिहानैदेखि राति अबेरसम्म स्याउबारीमै व्यस्त देखिने गरेका छन् ।
स्याउ टिप्न शुरु भएसँगै व्यापारी स्याउ बगैँचामै आएर खरीद गर्ने क्रम बढेको छ । स्याउ खरीद गर्न नेपालगञ्ज, सुर्खेत, काठमाडौँलगायत स्थानका व्यापारी जुम्ला आएका छन् । भदौको दोस्रो सातादेखि स्याउ टिप्न र ढुवानी गर्न स्थानीय तहले अनुमति दिए पनि केही किसानले पहिले नै बगैँचा खाली गरिसकेका छन् ।
ढिलो टिपे स्याउ बिक्री नहुने समस्याले धमाधम बगैँचा खाली हुन थालेका हुन् । यस वर्ष जुम्लामा छ हजार १०० मेट्रिक टन स्याउ फल्ने अनुमान कृषि ज्ञान केन्द्रको छ । जिल्लाको स्याउ उत्पादनबारे प्राविधिकले तथ्याङ्क सङ्कलन गरिहेका कृषि ज्ञान केन्द्रका अर्थविज्ञ बालकराम देवकोटाले बताए ।
उनका अनुसार गत वर्षभन्दा यस वर्ष स्याउ उत्पादन हुने क्षेत्र बढेकाले उत्पादन पनि बढेको छ । देवकोटाले स्याउको बजार वर्षेनी बढिरहेको बताए । केही वर्षअघिसम्म स्याउ बिक्री गर्न खलङ्गा बजारमा लैजानुपर्ने बाध्यता थियो । यस वर्ष व्यापारी बगैँचामै पुगेर स्याउ खरीद गरिरहेका छन् ।
उनले किसानले बारीमा भएका सबै स्याउ बिक्री गरिसकेका जानकारी दिए । आठ वर्षअघि साविक जिल्ला विकास समितिको १५ औँ जिल्ला परिषद्ले जुम्लालाई प्रांगारिक जिल्ला घोषणा गरेको थियो ।
जुम्लाले २०६६ सालमा नेपाल प्राङ्गारिक प्रमाणीकरण मान्यता पाएपछि स्याउ जिल्ला बाहिर जाने क्रम बढेको हो ।
स्याउको बजार जिल्ला बाहिर भएकाले ढुवानीमा समस्या हुने गरेको स्याउ व्यापारीले बताउने गरेका छन् । जुम्लाको स्याउको माग काठमाडौं लगायत ठूला शहरमा बढी छ ।
स्तरीय कार्टुन नहुँदा स्याउ प्याकेजीङमा समस्या भएको कृषि ज्ञान केन्द्रका अर्थविज्ञ देवकोटाको भनाइ छ ।
जिल्लामा स्याउ भण्डारको व्यवस्थासमेत नहुँदा किसान समस्यामा परेका छन् । केही किसानले आफैँ स्याउ जिल्ला बाहिर बिक्रीका लागि लैजाने गरेका छन् । बजारको मागभन्दा धेरै स्याउ एकै पटक जाने भएकाले राम्रो मूल्य नपाएको उनको भनाइ छ ।
केन्द्रका अनुसार जुम्लामा तीन हजार १०० हेक्टरमा स्याउखेती गरिएकामा ८०० हेक्टरमा मात्रै स्याउ फलेको छ । (रासस)