नेपालमै पहिलो पटक ‘वाटर साइकल’ संचालनमा

काठमाडौं । भक्तपुर नगरपालिका-१ इताछेँस्थित नःपुखुमा नेपालमै पहिलोपटक पानीमाथि चलाउने ‘वाटर साइकल’ शुभारम्भ गरिएको छ ।

भक्तपुर नगरमा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले शनिबारदेखि ‘वाटर साइकल’ सञ्‍चालनमा ल्याइएको हो ।

उक्त वाटर साइकलको भक्तपुर नगरपालिका–१ का वडाध्यक्ष श्यामकृष्ण खत्री र सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकको अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले संयुक्त रुपमा उद्घाटन गरे।

टी एण्ड एन एडभेन्चर कम्पनीले भक्तपुर नगरपालिकाको समन्वयमा नःपुखुमा पोखरीमा वाटर साइकलिङ सञ्चालनमा ल्याएको हो ।

एउटा वाटर साइकलमा एक पटकमा दुई जना बस्न सकिने कम्पनीका सञ्चालक सुजन तिमिल्सिनाले जानकारी दिए । पोखरीमा अहिले ५ वटा साइकलबाट सेवा सुरुवात गरेको र अन्य पोखरीहरूमा समेत सञ्चालन गर्ने योजना रहेको उनले बताए ।

भक्तपुरको नःपुखु पछि सर्लाहीको बागमती नगरपालिकासँगको सहकार्यमा त्यहाँको भरत तालमा यो सञ्‍चालन गर्ने सहमति भइसकेको पनि सञ्‍चालन संस्थाको भनाइ छ ।

वाटर साइकल चलाउन प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ । सो शुल्क तिरेपछि १५ मिनेटमा पोखरीमाथि दुई राउण्ड साइकल चलाउन सक्ने छन् ।

नः पुखु भक्तपुरको दुधपाटीस्थित सिद्धपोखरी हुँदै भक्तपुर नगरतर्फको १०० किटर अगाडिको दूरीमा पर्छ । भक्तपुरको एक्सप्रेस बसपार्कसँगैको प्रवेश गेटसँग जोडिएर नः पुखु सुरु हुन्छ । जिल्ला सरकारी वकिलको कार्यालय र ज्ञान विजय आधारभूत विद्यालयको लोकेशन नक्सामा हेर्दै गए पनि नः पुखु पुग्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here