ललिता निवास जग्गा प्रकरणका आरोपितलाई संगठित अपराधमा मुद्दा नचलाउने

काठमाडौं । चर्चित ललिता निवास जग्गा हिनामिना प्रकरणमा आरोपीहरुलाई संगठित अपराधको आरोपमा मुद्दा नचलाइने भएको छ ।

उक्त अनियमितता संगठित अपराध सम्बन्धी कानून जारी हुनुभन्दा पहिले भएको भन्दै सरकारी वकिलको कार्यालय, काठमाडौंले संगठित अपराध कसुरमा मुद्दा नचलाउने निर्णय गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले कीर्ते र संगठित अपराधमा मुद्दा चलाउनुपर्ने राय दिए पनि सरकारी वकिलले कीर्ते अभियोगमा मात्र मुद्दा चलाउने भएको हो ।

संगठित अपराध निवारण ऐन, २०७० चैत १२ गते जारी भएको थियो । ललिता निवास जग्गा हिनामिना वि. सं. २०४९, २०६०, २०६२, २०६७ र २०६९ सालमा विभिन्न सरकारी निकायबाट भएको निर्णयका आधारमा भएको थियो ।

कुनै पनि कानून जारी भएको मितिपछि मात्रै लागू हुने भएकाले त्यसअघि भएका घटनामा त्यो कानून आकर्षित नहुने भन्दै सरकारी वकिलको कार्यालयले आरोपितलाई कीर्तेको अभियोगमा मात्रै मुद्दा चलाउने निर्णय गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here