मलेसियाविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौं । मलेसियाविरुद्ध ५ रनको रोमाञ्चक जित हात पार्दै नेपालले आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा विजयी सुरुवात गरेको छ ।

मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८४ रन बनाएको थियो । नेपालकी सीता रानामगर सर्वाधिक ३८ रनमा अविजित रहिन् ।

नेपालले सुरुवाती तीन बलमै तीन विकेट गुमाउँदै खराब सुरुवात गरेको थियो । छैटौँ विकेटका लागि सीता र अप्सरी बेगमले ५१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । अप्सरी बेगम १७ रनमा आउट भइन् ।

पहिलो बलमै ओपनर काजोल श्रेष्ठ, ऐना हामिजाहको बलमा मास एलिसाबाट क्याच आउट भइन् । अर्को बलमा सम्झना खड्का बोल्ड आउट हुँदा तेस्रो बलमा इन्दु बर्मा रन आउट भइन् । पूजा महतो ५ र कप्तान रुबिना क्षेत्री १२ रनमा आउट भइन् । मलेसियाकी ऐना हामिजाले २ तथा महिराह इजाती, ऐश्या एलिसा र निक नुरले एक-एक विकेट लिए ।

नेपालले दिएको ८५ रनको सामान्य लक्ष्य पछ्याएको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो ।

उसका लागि कप्तान विनिफ्रेड दुराईसिंगमले सर्वाधिक २८ रन जोडिन् । ऐना हामिजा १४, मास एलिसा १० र माहिरा इस्माइल ९ रनमा आउट भइन् ।

नेपालको जितमा कविता जोशी र कविता कुँवरले समान २–२ विकट हात पारे । रुबिना क्षेत्री र अश्मिना कर्माचार्यले १–१ विकेट लिए । जितसँगै नेपालले पहिलो खेलबाट २ अंक जोडेको छ । नेपालले आफ्नो दोस्रो खेलमा भोलि बहराइनसँग खेल्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here