एन्टिबायोटिककाे जथाभावी प्रयोग रोक्ने प्रयास, खोलमा ‘रेड लाइन’ कोर्नैपर्ने

काठमाडौं । औषधि व्यवस्था विभागले एन्टिबायोटिक औषधिको खोलमा अनिवार्य रातो धर्का राख्न उत्पादक तथा आयातकर्तालाई निर्देशन दिएको छ ।

निर्णयअनुसार २०८० भदौ ११ गतेको मितिबाट बढीमा ६ महिनापछि उत्पादन हुने औषधिका लागि यो नियम लागु हुनेछ ।

एन्टिबायोटिक औषधिहरुको अधिक प्रयोग, न्यून प्रयोग तथा अनावश्यक प्रयोगले गर्दा उत्पन्न हुने प्रतिजैविक प्रतिरोधलाई न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय प्रचलन अनुसार प्रतिजैविक औषधिको पहिलो र दोस्रो प्याकिङ्गको लेबलमा रातो धर्का लगाउने अभ्यास रहँदै आएको छ ।

सोहीअनुसार विभागले एन्टिबायोटिकको प्रयोग जथाभावी हुँदा भविष्यमा यसको प्रयोग प्रभावविहीन हुन सक्ने भन्दै औषधिको खोलमा रातो धर्का अनिवार्य कोर्नुपर्ने जनाएको हो। यसका लागि औषधि सल्लाहकार समितिको ५५औँ बैठकले सिफारिस गरेको थियो।

औषधिको प्रयोगकर्ता र गैरस्वास्थ्यकर्मीले समेत सजिलै पहिचान गर्न र यसको अनावश्यक प्रयोगबारे सचेतना बढाउने सो नियम प्रयोगमा ल्याउन लागिएको हो ।

‘ख’ वर्गका एन्बिायोटिकको बाहिरी र भित्री प्याकिङमा लेवलमा सो धर्का राख्नुपर्नेछ ।

पछिल्लो समय प्रत्यक्षरुपमा सानो-सानो संक्रमण हुँदा पनि मानिसहरुले आफूखुसी एन्टिबायोटिक किनेर खाने तथा अपत्यक्षरुपमा फलफूल तथा पोल्ट्री फर्महरुमा ब्रोइलरलाई छिटो हुर्काउन दिइने एन्टिबायोटिक (ग्रोथ हर्मोन)का कारण पनि नेपालीको शरीरमा एन्टिबायोटिकको मात्रा बढिरहेको छ ।