कोशीमा बजेट शून्यताको स्थिति अन्त्य, प्रदेश प्रमुखले जारी गरे अध्यादेश

विराटनगर। कोशी प्रदेशमा बजेट शून्यताको स्थिति अन्त्य भएको छ। सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले आइतबार बजेटसम्बन्धी अध्यादेश जारी गरेसँगै कोशीमा बजेट शून्यताको स्थिति अन्त्य भएको हो।

गएको जेठ ३२ गते तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन विधेयकमार्फत पारित हुन नसकेपछि निष्क्रिय भएको थियो । भदौ १० गतेभित्र बजेट पारित भइसक्नुपर्ने थियो ।

उद्धव थापा नेतृत्वको सरकारले भदौ ६ गते प्रदेशसभाको अधिवेशन अन्त्य गरेपछि बजेट पारित हुन पाएको थिएन । दुवै अध्यादेश तत्कालीन आर्थिक मामिल तथा योजनामन्त्री बाबुराम गौतमले प्रदेशसभामा भने पेस गरेका थिए ।

यसअघि अध्यादेशमार्फत ल्याइएको बजेटमा कुनै फेरबदल नगरी जस्ताको त्यस्तै फेरि बजेटसम्बन्धी अध्यादेश ल्याइएको हो। अध्यादेश अनुसार चालु आर्थिक वर्षका लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याइएको छ।

चालूतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार, पुँजीगततर्फ १८ अर्ब २३ करोड ५२ लाख, वित्तीय व्यवस्थातर्फ १ करोड र वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ६० करोड २९ लाख ९२ हजार रुपैयाँ बजेट छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here