नबिल बैंकले ल्यायो १० लाखको सामुहिक व्यक्तिगत दुर्घटना बीमा योजना

काठमाडौं, १७ भदौ । नबिल बैंकले दश लाख रुपैयाँको सामुहिक व्यक्तिगत दुर्घटना बीमा योजना ल्याएको छ ।

यो योजना भाद्र १५ गते देखि लागू हुने गरी नबिल बैंकको तर्फबाट बैंकका डेपुटि प्रमुख कार्यकारी अधिकृत अनिल खनाल र एन.एल.जी. बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त बीच सम्झौता भएको छ ।

यस योजना अन्तर्गत, दैनिक मौज्दात रु. ५ हजार वा सो भन्दा बढि राख्ने जुनसुकै प्रकारका नेपाली मुद्राका व्यक्तिगत बचत खातावालाहरुलाई रु. १० लाखको सामुहिक व्यक्तिगत दुर्धटना बीमा गरिएको छ ।

योजना अन्तर्गत बचतकर्ताको दुर्धटनाद्वारा मृत्यु भएमा अथवा स्थायी पूर्ण असक्तता भएमा एकमुस्ठ १० लाख रुपैयाँ बीमा रकम प्रदान गरिने बैंकले बताएको छ ।

यस योजना अन्तर्गत आफ्नो नेपाली मुद्रा खातामा न्यूनतम ५ हजार रुपैयाँ मौजदात राख्ने सम्पूर्ण बचत खाता वालाहरुको बीमा स्वत रुपमा १५ भाद्र २०७६ मा भैसकेको छ । साथै यो योजनामा सामिल भैरहन बचतकर्ताले सधैं ५ हजार रुपैयाँ वा बढि मौज्दात कायम राख्नुपर्ने बैंकले बताएको छ ।

त्यसैगरी ५ हजार रुपैयाँ वा बढि मौज्दात कायम नभएका व्यक्तिगत बचत खातावालाहरुले आफ्नो खातामा नेपाली क्यालेन्डर बमोजिम कुनैपनि महिनाको पहिलो कार्य दिनबाट सधै उक्त मौजदात कायम राखी यस योजनामा सामिल हुन सक्नेछन् ।

नयाँ व्यक्तिगत बचत खाता खोल्ने ग्राहकहरुको हकमा, बैंकको कुनै पनि व्यक्तिगत बचत खाता खोली ५ हजार रुपैयाँ वा बढिको मौज्दात खाता खोलेको महिनाको अन्त्यमा मात्र पनि कायम राखी खाता खोलेकै दिनबाट यो योजनामा सामिल हुन सकिने बैंकले बताएको छ ।

यस योजनामा सामिल हुन कुनै उमेरहद नभएतापनि नावालकको हकमा खाता संरक्षक यस योजनामा विमित हुन सक्नेछन् । बैंकले प्रदान गरिरहेको समान बीमा योजना ग्राहक स्वयंले खरिद गर्दा शुल्क व्यर्होर्नपर्ने हुन्छ तर आफ्ना व्यक्तिगत बचतकर्ताहरुको हितलाई मध्यनजर गरी यस योजनामा सामिल हुँदा लाग्ने बीमा प्रिमियमको खर्च बैंक स्वयंले व्यहोर्ने बताईएको छ ।

नबिल बैंकको ७९ शाखा, १४० एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here