भारतीले सुरु गरिन् अनशन, रिगललाई तत्काल थुनामै पठाउन माग

काठमाडौं । आफ्ना श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइको रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी भारती मानन्धरले रिले अनसन सुरु गरेकी छन् ।

भारती आजबाट माईतीघर मण्डलामा रिले अनसन बस्न थालेकी हुन् । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका ढकाललाई तत्काल थुनामै पठाउन माग गर्दै आजबाट रिले अनसन बस्ने घोषणा गरेकी थिईन् ।

रिगल विरुद्ध २८ असार २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

उनी करिब ५ वर्ष जेल बसेर माफी पाई थुनामुक्त भएका छन् ।

उनलाई सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आममाफी दिएका थिए । खुँडा प्रहार गरेर क्रूररुपमा हत्या गरेका हत्यारालाई आममाफी दिएको भन्दै सरकार र राष्ट्रपतिको चौतर्फी आलोचना भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here