एक वर्षमा दुई पटक पार्टी बदल्दै पूर्वमन्त्री कुशवाह एमालेमा प्रवेश

काठमाडौं । पूर्वमन्त्री शिवचन्द्र कुशवाह नेकपा एमालेमा प्रवेश गरेका छन् ।

गत वैशाख १० गतेको उपनिर्वाचनमा माओवादी केन्द्र छाडेर सीके राउत नेतृत्वको जनमत पार्टीबाट बारा–२ मा उम्मेदवार बनेका कुशवाहलाई बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गरेका हुन् । यसअघि उनी जनमत पार्टी छोडेर स्वतन्त्र रहँदै आएका थिए ।

कुशवाहाले २०७९ को प्रतिनिधि सभा निर्वाचनमा बारा-२ मा माओवादी केन्द्रबाट उम्मेदवार बनेर १३ हजार ४६८ मत ल्याएका थिए। त्यहाँबाट निर्वाचित रामसहायप्रसाद यादव राष्ट्रपति बनेपछि भएको उपनिर्वाचनमा माओवादी केन्द्रले जसपाका उपेन्द्र यादवलाई समर्थन गर्‍यो।

त्यसपछि उनी माओवादी परित्याग गरी सिके राउत नेतृत्वको जनमत पार्टी प्रवेश गरेका थिए। उपनिर्वाचनमा जनमतबाट बारा-२ को उम्मेदवार बनेका कुशवाहा जसपा अध्यक्ष उपेन्द्र यादवसँग पराजित भए। कुशवाहालाई गत साउनमा नेतृत्वविरूद्ध गुटबन्दी गरेको भन्दै जनमतले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो।

कुशवाह २०६४ सालमा बारा–२ बाट संविधान सभा सदस्य निर्वाचित भएका थिए भने माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य पनि रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here