इजरायलबाट फर्किन थप २०० नेपालीले दिए निवेदन,विपिनको खोजी जारी

काठमाडौं । द्वन्द्वग्रस्त इजरायलबाट नेपाल फर्कन २०० जनाले तेल अबिबस्थित नेपाली दूतावासमा आवेदन दिएका छन् ।

इजरायल-प्यालेस्टाइन युद्ध सुरु भएसँगै दूतावासले घर फर्किन चाहने नेपालीहरूका लागि अनलाइनमार्फत निवेदन मागेको थियो ।

नेपाल फर्कन चाहनेको यो संख्या गएराति इजरायलबाट उद्धार गरी ल्याइएका २५३ जना बाहेकको हो । उनीहरूले आफूहरूलाई छिट्टै नेपाल फर्काउन दूतावासलाई भनेका छन् ।

शुक्रबार बिहानमात्रै पहिलो चरणमा १५४ जना नेपाली विद्यार्थीलाई उद्धार गरी नेपाली ल्याइएको छ । इजरायलमा प्यालेस्टाइनको लडाकू समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । चार जना घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् ।

घाइतेमध्ये एक जना नेपाल फर्किसकेका छन् । अरु तीन जनाको इजरायलमै उपचार भैराखेको छ । थप एक जना डिस्चार्जको क्रममा रहेको र बाँकी दुई जनाको उपचार जारी रहेको दूतावासले जनाएको छ ।

इजरायलका उच्चस्तरीय निकायका पदाधिकारीहरूलाई हराइरहेका एक नेपाली विद्यार्थीको खोजी कार्यमा तीब्रता दिन पुनः अनुरोध गरिएको समेत दूतावासले जनाएको छ ।

साथै, प्रहरी, अस्पताललगायत सम्भाव्य सम्पूर्ण माध्यमहरूको सदुपयोग गरी उनको खोजी कार्यलाई अझै तीब्र पारिएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here