लाइसेन्स बोकेर हिड्ने झन्झट हट्यो, नागरिक एपबाट देखाउन मिल्ने

काठमाडौं । अब सवारी चालकहरुले चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) बोकेर हिड्नुपर्ने झन्झट हटेको छ । ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचमा नागरिक एपबाटै ड्राइभिङ लाइसेन्स देखाउन मिल्ने भएको हो ।

सोमवार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै नागरिक एपले याे सेवा देशैभर लागू भएकाे जानकारी दिएकाे छ । ​ ‘नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारीचालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौं,’ सूचनामा भनिएको छ।

सरकारले सम्पूर्ण सरकारी सेवालाई एकै ठाउँमा समेट्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको नागरिक एपबाट देखाएको डिजिटल लाइसेन्स किन मान्य हुँदैन भन्ने विषयमा बारम्बार प्रश्न उठिरहेको थियो ।

सरकारले नागरिकका सम्पूर्ण व्यक्तिगत कागजात (सरकारी निकायले जारी गर्ने) वा सूचनालाई एउटै प्लेटफर्मबाट उपलब्ध गराएर सार्वजनिक सेवा उपलब्ध गराउने उद्देश्यले ‘नागरिक एप’ २०७७ माघमा सार्वजनिक गरेको थियो। नागरिक एपमा नागरिकता, सवारी चालक अनुमतिपत्र, राहदानी लिंक गर्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here