काठमाडौं महानगरको मेयर-उपमेयरको वरीयता खोस्ने प्रस्ताव

काठमाडौं । राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिबाट पारित गरिएको छ । समितिले प्रतिवेदनसहितको उक्त विधेयक मंगलबार राष्ट्रियसभा बैठकमा पेस गर्ने निर्णय गरेको हो ।

नयाँ मर्यादा क्रमानुसार काठमाडौं महानगरका प्रमुख र उपप्रमुखको वरीयताक्रम खोसिनेछ । हाल काठमाडौं महानगरका प्रमुखको वरीयताक्रम दशौँ नम्बरमा छ । हाल ११औँ नम्बरमा काठमाडौंबाहेक अरू सबै महानगरपालिका प्रमुखको वरीयता कायम छ । १३औँ वरीयतामा काठमाडौं महानगर उपप्रमुखको वरीयता छ ।

काठमाडौंबाहेक अरू महानगरका उपप्रमुखको वरीयता १६औँ नम्बरमा छ । बैठकबाट सबै महानगरपालिका प्रमुखको वरीयता १७औँ नम्बरमा रहने गरी प्रतिवेदन पारित गरिएको छ । समितिबाट पारित विधेयकमाथिको प्रतिवेदनमा विश्वविद्यालयका प्राध्यापक, नेपाली सेनाका उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रदेश सरकारका पूर्व राज्यमन्त्री पनि सोही वरीयतामा छन् ।

अहिले दशौँ वरीयतामा काठमाडौं महानगर प्रमुखसँगै नेपाल सरकारका सहायक मन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य, नेपाल सरकारका पूर्वमन्त्री, उच्च अदालतका मुख्य न्यायाधीश, प्रदेशका मन्त्री, प्रधानसेनापतिलगायत छन् । नयाँ प्रस्ताव अनुसार महानगर उपप्रमुख, उपमहानगर प्रमुख र उपप्रमुख तथा नगरपालिकाका प्रमुख १८औँ र गाउँपालिकाका अध्यक्ष, नगरपालिकाका उपप्रमुख १९औँ तथा गाउँपालिकाका उपाध्यक्ष २०औँ नम्बरमा रहनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here