चिनियाँ नेता वाङ आज काठमाडाैं आउँदै, यस्ताे छ भ्रमण तालिका

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ आज दिउँसाे नेपाल आउँदैछन् । पाँचदिने वाङको भ्रमणमा उच्चस्तरीय राजनीतिक भेटघाट हुने कार्यक्रम रहेकाे छ । तिब्बतको पार्टी सेक्रेटरी चीन सरकारका निर्णायक अधिकारीमध्येहरू एक मानिन्छन् ।

नेपाल मामिला हेर्ने निकायका अन्य पदाधिकारीसमेत साथै लिएर आउन लागेका वाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे छलफल गर्नेछन् ।

वाङले काठमाडौं ओर्लिएकै दिन उपराष्ट्रपति रामसहाय यादवलाई भेट्नेछन् । बिहीबार उनले प्रधानमन्त्री प्रचण्ड राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र सामान्य प्रशासन मन्त्री अनितादेवीसँग भेट गर्ने कार्यक्रम छ । साथै अध्यक्ष तिमिल्सिनाले तिब्बत पार्टी सचिव वाङको सम्मानमा रात्रिभोज आयोजना गर्दै छन् ।

चिनियाँ नेता वाङ २४ कात्तिकमा पोखरा जानेछन् । पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसँग उनको भेटवार्ता हुनेछ । सोही साँझ मुख्यमन्त्री पाण्डेले उनको सम्मानमा रात्रिभोज आयोजना गर्दै छन् । पोखरामा रहँदा वाङले चीन–नेपाल सांस्कृतिक आदान–प्रदानसम्बन्धी परियोजनाको निरीक्षण गर्ने कार्यतालिका छ ।

चीन भ्रमणको क्रममा १० असोजमा वाङसँग प्रधानमन्त्री प्रचण्डको टोलीको भेटवार्ता भएको थियो । त्यतिबेला नेपाल र चीनका नाकाहरू सञ्चालन गर्ने, सीमानाका पूर्वाधारहरू व्यवस्थापन गर्ने सहमति भएको थियो । उक्त सहमति अनुसार नै २७ कात्तिकबाट मुस्ताङको कोरला नाका खुल्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here