एआइले खोस्दै मानिसको जागिर, लाखौं रोजगारीको जोखिममा

सोल । आगामी दुई दशकमा दक्षिण कोरियामा करिब ४० लाख रोजगारी कृत्रिम बौद्धिकता (एआइ, आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिले प्रतिस्थापन गर्ने जोखिममा रहेको बिहीबार जारी केन्द्रीय बैंकको एक अध्ययनमा बताइएको छ ।

तीव्ररूपमा अगाडि बढिरहेको एआइ प्रविधिले रोजगारी गुमाउने र साइबार हमलादेखि लिएर मानिसले डिजाइन गरेका प्रणालीमा नियन्त्रण गुमाउनेसम्मका सबै कुरामा वैश्विक चिन्ता उत्पन्न गरिदिएको छ ।

बैंक अफ कोरियाको नयाँ अध्ययनमा घरेलुस्तरमा एआइलाई अपनाउनेहरू बढिरहेकाले दक्षिण कोरियामा करिब ४० लाख रोजगारी खतरामा रहेको जनाइएको छ । एआइबाट चिकित्सक, वकिल, एकाउन्टेन्ट तथा रसायनशास्त्रीहरू सबैभन्दा धेरै जोखिममा रहेको व्यवसायमा पर्नेछन् ।

‘उच्च शैक्षिक पृष्ठभूमि र उच्च आम्दानी भएका कामदारहरूले एआइको ठूलो जोखिमको सामना गर्नुपर्नेछ र उनीहरूलाई एआइले प्रतिस्थापन गर्ने ठूलो जोखिम छ,’ अध्ययनमा भनिएको छ ।

एआइले सेतो पोशाकधारी (चिकित्सक)को विश्लेषणात्मक र बौद्धिक कार्यलाई सजिलै पूरा गर्न सक्ने भएकाले यस्ता नोकरी सबैभन्दा ठूलो जोखिममा पर्ने अध्ययनमा उल्लेख छ ।

अध्ययन अनुसार एआइका कारण आफ्नो जागिर गुमाउने सबैभन्दा कम सम्भावना भएका व्यक्तिह धार्मिक, खाद्य सेवा र शिक्षण क्षेत्रका हुनेछन् । बैंक अफ कोरियाको अध्ययनमा भनिएको छ, ‘एआइ प्रविधि विद्यमान रोजगारीका लागि खतरा हो तर यसले एआइ प्रणाली विकसित गर्ने इन्जिनियर र एआइसँग सम्बन्धित स्टार्ट–अपहरूमा नयाँ नयाँ रोजगारीको अवसरसमेत सिर्जना गर्दछ ।’ रासस/एएफपी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here