नेपालमा अझै ३ लाख परिवार शौचालयको सुविधाबाट वञ्चित

काठमाडौं । राष्ट्र संघका अनुसार विश्वका साढे ३ अर्ब मानिस अझै पनि शौचालयको सुविधाबाट वञ्चित छन् । त्यसमध्ये ४१ करोड ९० लाख मानिस त अझै पनि खुला स्थानमा दिसापिसाव गर्छन् । खुला दिसापिसाबका कारण फैलने रोगले दैनिक १ हजार बालबालिकाको मृत्यु हुने गरेको छ ।

सुरक्षित शौचालय, पूर्ण सरसफाइ र सबैका लागि स्वच्छ पानीको लक्ष्य हासिल गर्न अब ७ वर्षमात्र बाँकी छ । नेपालले १९ असोज २०७६ मा खुला दिसामुक्त र पूर्ण सरसफाईमा अग्रसर राष्ट्र घोषणा गरेको थियो ।

वि.सं. २०७८ को जनगणनाअनुसार नेपालमा शौचालय प्रयोग गर्ने परिवारमा ९.८ प्रतिशत परिवारले फ्लस भएको (सार्वजनिक ढल) को प्रयोग गर्ने गर्दछन् । यो परिवार संख्या ६ लाख ५३ हजार ७१० रहेको छ । फ्लस (सेफ्टिक ट्यांकी) भएको शौचालय प्रयोग गर्नेको संख्या सबैभन्दा बढी ५५.१ प्रतिशत रहेको छ । अर्थात यो संख्या ३६ लाख ६७ हजार ७८० हो ।

त्यस्तै साधारण शौचालयको प्रयोग गर्नेको संख्या २० लाख ५ हजार ४८० रहेको छ । यो प्रतिशतमा हेर्दा ३०.१ रहेको छ । त्यस्तै सार्वजनिक शौचालय प्रयोग गर्नेको प्रतिशत ०.५ रहेको छ । यो संख्या ३२ हजार ३८१ हो । यस्तै शौचालय नहुनेको संख्या नेपालमा ४.५ प्रतिशत अर्थात ३ लाख १ हजार ४९० रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here