सुन्दर यातायातले देशभर ५० बस र ५०० विद्युतीय ट्याक्सी चलाउने

काठमाडौं, २३ भदौ । सुन्दर यातायात प्रालीले एकैपटक विद्युतबाट चल्ने ५० वटा बस र ५०० ट्याक्सी ल्याएर देशभर चलाउने जानकारी दिएको छ ।

उक्त कम्पनीले काठमाडौं उपत्यकामा सोमबार देखि सञ्चालनमा ल्याएको विद्युतीय बससेवाको उद्घाटन समारोहमा कम्पनीका अध्यक्ष भेषबहादुर थापाले ५० बस र ५०० वटा ट्याक्सी ल्याउने तयारी भईरहेको बताए ।

‘हामी अब ५० वटा बस र ५०० वटा इलेक्ट्रिक ट्याक्सी सञ्चालनमा ल्याउने तयारीमा छौं’ उनले भने, ‘यी बस र ट्याक्सीहरु हामी देशैभर सञ्चालनमा ल्याउछौं’

सञ्चालन मुल्य कम हुने र प्रदूषण पनि नहुने कारण विद्युतीय यातायातको लागि पहल गरेको पनि उनले बताए ।

सुन्दर यातायातले सोमबार देखि ४ वटा विद्युतीय बस ल्याएर चक्रपथमा यातायात सेवा सुरु गरेको छ ।

चीनको बिएके कम्पनीले आवश्यक मात्रामा विद्युतीय सवारी साधनहरु उपलब्ध गराउने प्रतिवद्धता गरेको कारण बाँकी ४६ वटा बस ५०० वटा विद्युतीय ट्याक्सी ल्याउने तयारी भएको पनि उनले बताए ।

‘चिनियाँ कम्पनीहरुले सहयोग गर्ने प्रतिवद्धता गरिरहेका छन् । यस्तो अवस्थामा हाम्रो देशले भोग्दै आएको व्यापार घाटालाई कम गर्नपनि विद्युतीय गाडीहरु सञ्चालन गर्न आवश्यक छ’ अध्यक्ष थापाले भने ।

सोमबारबाट सञ्चालनमा आएको विद्युतीय बस खरिदमा पनि चीनको बिएके कम्पनीको ७५ प्रतिशत लगानी भएको उनले बताए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here