सबै बैंक तथा वित्तीय संस्थालाई आइटी प्रणालीकाे सेक्युरिटी अडिट गर्न निर्देशन

काठमाडौं, २४ भदौ । गत साता विभिन्न बैंकका एटीएम ह्याक गरी करीब साँढे तीन करोड रुपैयाँ निकालिएको घटनापछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई वेवसाइट, मोबाईल एप, आधिकारिक सामाजिक सञ्जाल, सूचना प्रविधि प्रणाली सुदृढ गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै विभिन्न किसिमका साबइर आक्रमण, मालवेयर, रेन्समवेयर, स्पाम फिसिङ लगायतका माध्यमबाट प्रणालीमा अनधिकृत रुपमा पहुँच गरी सूचना तथा आर्थिक चोरी, तथा क्षति रोक्न सूचना प्रविधि प्रणाली सुदृढ गराउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकले इजाजत प्राप्त सबै क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थालाई आफ्नो सूचना प्रविधि प्रणालीमा सुधार गर्न भनेको छ ।

यसको लागि पेरिमिटर डिफेन्स, एक्सेस कन्ट्रोल, इन्क्रिप्सन, एन्टीभाइरस तथा फायरवाल जस्ता प्रणालीको प्रयोग गर्न राष्ट्र बैंकले भनेको छ ।

यस्तै प्रविधिमा सुधार गरी सूचना आदानप्रदान, भुक्तानी आदेश एवं सेवा प्रवाह गर्दा अवलम्बन गरिएका प्रणालीहरुको सत्यता जाँच गर्न समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

यसैगरी नक्कली पत्राचार र भुक्तानीको आदेशबाट समेत प्रयुक्त प्रणालीको दुरुपयोग गर्ने प्रयास भएको पाइएकाले प्रणालीहरुको आवश्यकता अनुगमन गर्ने र भएका घटना र आक्रमणको सूचना सम्बन्धित निकायमा दिने व्यवस्था गर्न पनि राष्ट्र बैंकले भनेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले प्रयोग गर्दै आएका आइटी प्रणालीहरुको सेक्युरिटी अटिड गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

यस्ताे छ सूचना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here